काठमाडौँ । जेन–जी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ केएमसी अस्पताल पुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपछि सिधै अस्पताल पुगेका मन्त्री गुरुङले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै उपचारबारे जानकारी लिएका हुन् । अस्पतालमा पूर्व सांसद तथा केएमसीका सञ्चालक डा. सुनिल शर्माले घाइतेहरूको निःशुल्क उपचार गरिरहेको जानकारी दिए।
मन्त्री गुरुङले अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरिएकोमा डा. शर्माप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले घाइतेहरूको उपचार र सेवामा भएको सहयोगलाई सकारात्मक कदम भन्दै प्रशंसा गरेका हुन् ।

डा.शर्माले भने, “यहाँ घाइते सबैको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको थिएँ । बिरामीको अवस्था बुझिरहनुभएको छ, सबैको उपचार निःशुल्क भइरहेको छ ।” गृहमन्त्री गुरुङले शर्माको सेवाप्रति धन्यवाद दिँदै घाइतेहरूको उपचारमा देखिएको सहयोगलाई प्रशंसनीय बताए ।
मन्त्री गुरुङले डा.शर्मालाई अंकमाल गर्दै भने, “तपाईँले घाइतेहरूलाई मलहमसँगै परिवारको आँसु पुछिदिनुभएको छ । यो सेवामा कमी नहोस्, तपाईँप्रति सधैँ सम्मान छ ।”
डा.शर्माका अनुसार केही घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचाररत छन् । उनीहरूको उपचार निःशुल्क रूपमा जारी रहेको छ।

मन्त्री गुरुङले घाइतेहरूको अवस्थाबारे चासो राख्दै थप उपचार व्यवस्थाबारे समेत जानकारी लिएका छन् ।





























प्रतिक्रिया