काठमाडौं
अघिल्ला वर्षको तुलनामा यसपालि माघ सुरुमै जाडो कम भएको छ। पछिल्लो एक साताभित्र न्यूनतम तापक्रम निरन्तर बढिरहेको छ। उपत्यकामा आइतबार न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९.६ डिग्री सेल्सियस कायम रह्यो। सोमबार न्यूनतम तापक्रम ४.६ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ। पुसमा देशभरको न्यूनतम तापक्रम शून्यदेखि अधिकतम तापक्रम १९.१ डिग्री सेल्सियस बीचमा थियो। एक सातामै न्यूनतम तापक्रममा सुधार हुँदा गर्मी महसुस हुन थालेको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पूर्वी क्षेत्रबाट आएको जलवाष्पी हावाले तातो बढाएकाले गर्मी सुरु भएको हो। पुस २१, २२ र २३ गते उपत्यकाको तापक्रम शून्य डिग्री थियो भने जुम्लामा ८.७ डिग्री पुगेको थियो। आइतबार तीन डिग्रीमा झरेको छ।
४० वर्षयता हिउँदमा न्यूनतम तापक्रममा निकै घटबढ भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार ०५६ माघ २ मा जुम्लाको तापक्रम सबैभन्दा कम माइनस १३.८ डिग्री र ०३४ पुस १७ मा उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री पुगेको थियो।
सहरी क्षेत्रमा बढ्दो प्रदूषणले कार्बनजन्य वस्तु उत्सर्जनका कारण तापक्रम अस्थिर बन्ने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले बताए। ‘सवारी प्रदूषण, कोइला, पेट्रोलियम र ग्यास प्रयोग गरी घरलाई न्यानो राख्नेदेखि औद्योगिक उत्पादनमा प्राकृतिक इन्धन प्रयोग गर्ने क्रम बढ्नु नै मुख्य कारण हो’, शर्माले भने। सय वर्षको अवधिमा पृथ्वीको सतहको औसत तापक्रम झन्डै ०.८ डिग्री सेल्सियस बढेको विभिन्न अध्ययनले देखाएका छन्।
पश्चिमी वायु नेपाल भित्रिने क्रममा रहेकाले मंगलबार बेलुकी सुदूरपश्चिमको हिमाली क्षेत्र, पश्चिम र मध्यक्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्नपुर्ण पोस्ट































प्रतिक्रिया