काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै आजदेखि देशभर क्रियाशील सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ।
नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि संगठनात्मक तयारी तीव्र पारेको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार आजदेखि सदस्यता वितरण र अद्यावधिक प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।
पार्टीले देशभर १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएर क्रियाशील सदस्यता फारम वडा तहसम्म पुर्याउने योजना बनाएको छ। यसका लागि आज सानेपामा प्रतिनिधिहरूलाई ‘ओरिएन्टेसन’ दिइने कार्यक्रम रहेको छ।
महाधिवेशनका लागि तय गरिएको कार्यतालिकाअनुसार वैशाख महिनाभर सदस्यता वितरण र अद्यावधिक अभियान सञ्चालन हुनेछ। त्यसपछि वडाबाट सुरु भएको प्रक्रिया क्रमशः क्षेत्र हुँदै केन्द्रीय तहसम्म पुग्नेछ।
पार्टीले सदस्यता अद्यावधिक र छानबिन प्रक्रिया पूरा गरी असार मसान्तसम्म अन्तिम नामावली तयार गर्ने लक्ष्य राखेको छ।
कांग्रेसले आगामी असोजमा १५औं महाधिवेशन सम्पन्न गर्ने तयारीका साथ संगठन विस्तार र आन्तरिक संरचना मजबुत बनाउने अभियान अघि बढाएको छ।





























प्रतिक्रिया