काठमाडाैं । इरानमाथि अमेरिका र इजरायलले आक्रमण सुरु गरेको ३६औँ दिनमा युद्धले थप हिंसात्मक रूप लिएको छ । इरानी सेनाले आफ्नो आकाशमा उडिरहेका दुईवटा अमेरिकी युद्धविमानलाई सफलतापुर्वक खसालेको दाबी गरेको छ। यो घटनालाई इरानले आफ्नो प्रमुख सैन्य उपलब्धिका रूपमा व्याख्या गर्दै राजधानी तेहरानमा उत्सव मनाएको छ।
इरानी रक्षा मन्त्रालयका अनुसार कोहगिलुये र बोयर-अहमद प्रान्तको आकाशबाट एक ‘एफ-१५ई स्ट्राइक ईगल’ र खाडी क्षेत्रमा एक ‘ए-१० वार्थोग’ विमान खसालिएका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूले दुई चालक दलका सदस्यको उद्धार गरिएको पुष्टि गरे पनि एक एयरम्यान अझै बेपत्ता रहेको र उनको खोजीका लागि ठुलो स्तरमा ‘सर्च एण्ड रेस्क्यु’ अपरेसन सञ्चालन भइरहेको जनाएका छन्। खोजी कार्यमा संलग्न अमेरिकी ‘ब्ल्याक हक’ हेलिकप्टरमाथि समेत इरानी पक्षबाट आक्रमण भएको खबर छ।
इरानी राष्ट्रपति मसउद पेजेस्कियानले अमेरिकी धम्कीहरूको कडा प्रतिवाद गर्दै इरानसँग अझै पनि शक्तिशाली रक्षा क्षमता बाँकी रहेको उद्घोष गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ढुङ्गे युग’ मा पुर्याउने दिएको धम्कीलाई ‘युद्ध अपराध’को योजना भन्दै अन्तर्राष्ट्रिय समुदायलाई मौन नरहन अपिल गरेका छन्। यता, इरानले अमेरिकाले प्रस्ताव गरेको ४८ घण्टाको युद्धविराम समेत अस्वीकार गरिदिएको छ।
युद्धको प्रभाव इरान र इजरायल बाहिर पनि देखिन थालेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीस्थित एक ग्यास कम्प्लेक्समा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक इजिप्टेली नागरिकको मृत्यु भएको छ
मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली पनि घाइते भएका छन्। शुक्रबार आबुधाबीको अज्बान क्षेत्रमा भएको मिसाइल र ड्रोनलाई त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरे पनि त्यसको अवशेष खस्दा १२ जना घाइते भएको गल्फ न्युजले जनाएको छ। घटनामा ७ जना नेपाली र ६ जना भारतीय नागरिक रहेका छन्। ७ नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको परिचय खुलाइएको छैन।
साथै कुवेतका तेल प्रशोधन केन्द्र र डिसेलिनेसन प्लान्टमा पनि क्षति पुगेको छ।
फेब्रुअरी २८ देखि सुरु भएको यस भीषण युद्धमा इरानमा मात्रै हालसम्म २,०७६ जनाको ज्यान गइसकेको छ भने २६,५०० भन्दा बढी घाइते भएका छन्। इजरायलले पनि यस युद्धका कारण करिब ११२ अर्ब डलरको आर्थिक भार खेपिरहेको छ। युद्धकै कारण विश्व बजारमा खाद्य सामग्रीको मूल्यमा २.४ प्रतिशतले वृद्धि भएको छ भने अस्ट्रेलिया लगायतका देशहरूमा इन्धनको चरम अभाव देखिन थालेको छ।
बढ्दो सैन्य खर्चलाई सम्बोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको विशाल रक्षा बजेट माग गरेका छन्। इरानले आफ्नो अत्याधुनिक रक्षा प्रणालीले अमेरिकी विमान खसालेको बताएपछि पेन्टागनले आफ्ना आगामी रणनीतिका बारेमा गम्भीर समीक्षा सुरु गरेको छ।





























प्रतिक्रिया