सूर्यविनायकमा क्यूआर कोडसहित घर नम्बर जडान अभियान सुरु

सूर्यविनायकमा क्यूआर कोडसहित घर नम्बर जडान अभियान सुरु

केन्द्रबिन्दु
9
Shares

भक्तपुर। सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर पुर्याउने अभियान सुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षभित्र नगर क्षेत्रका सबै घरलाई नम्बरिङ गर्ने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा सुरु गरेको हो ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोल पारीगाउँस्थित नगरप्रमुख वासुदेव थापाको घरमा नम्बर टाँसेर सुरु भएको अभियान आधुनिक प्रविधिको प्रयोगमार्फत नगरका सबै घरमा पुर्याउने गरी सुरु गरिएको नगर कार्यालयले जनाएको छ ।

नगरप्रमुख थापाले नगरलाई व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली अभियान सुरु गरेको जानकारी दिँदै यो प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। भविष्यमा स्मार्ट सिटीको रूपमा विकास गर्ने आधारसहित डिजिटल घर नम्बर प्रणाली लागू गरी घरघरमा नम्बर टाँस्ने अभियान सुरु गरिएको उनले बताए।

यसबारे जानकारी दिँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाउने, सेवा प्रवाहलाई द्रुत बनाउने तथा आपत्कालीन सेवालाई लक्षित स्थानमा छिटो पुग्न सहयोग पुर्याउने बताए।

नगरपालिकाका प्रत्येक घरमा क्यूआर कोडसहितको डिजिटल नम्बर जडान गरी घरको विस्तृत विवरण सङ्कलन गर्ने गरिनेछ । जसमा प्रत्येक घरको ठेगाना, परिवार विवरण, नक्सा समन्वयलगायतका सूचना डिजिटल रूपमा अभिलेख राखिने छ । प्रणालीले कर सङ्कलन, योजना निर्माण, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उनले जानकारी दिए।

Skip This
Skip This
Logo