मुस्ताङ। माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथमा शनिबार रातिदेखि भारी हिमपात भएको छ । हिउँदयाम जारी रहँदा यसपटकको हिमपातसँगै यस सिजनमा माथिल्लो मुस्ताङमा छैटौँ पटक हिउँ परेको हो । बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ जमेको जनाइएको छ ।
एक्याप लोमान्थाङका अनुसार स्वाङवचेदेखि माथिका घिलिङ, घमी, चराङ, लोमान्थाङ, छोसेर, यारा लगायतका क्षेत्र सेताम्मे बनेका छन् । कोरलानाकासम्म पनि हिमपात भएको छ ।
हिमपातका कारण जनजीवन प्रभावित बनेको छ भने चिसो अत्यधिक बढेको छ । पशुपालन र उच्च लेकमा आवतजावतमा समस्या देखिएको स्थानीयले बताएका छन् ।
मुक्तिनाथ क्षेत्रमा पनि भारी हिमपात भएपछि दर्शनार्थीलाई केही कठिनाइ भए पनि पर्यटकीय आकर्षण भने बढेको छ ।
त्यसैगरी मुस्ताङको तल्लो क्षेत्रमा भारी वर्षा भएको छ । स्याउ फुल्ने समयमा परेको वर्षा र हिमपातले बालीमा असर पुग्न सक्ने कृषि प्राविधिकहरूले बताएका छन् ।
विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा असमान हिमपात बढ्दै गएको छ, जसलाई जलवायु परिवर्तनको प्रभावका रूपमा लिइएको छ ।































प्रतिक्रिया