अब को बन्ला उपसभामुख ? [भिडियो]

अब को बन्ला उपसभामुख ? [भिडियो]

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल आज बसेको संसद बैठकबाट निर्विरोध निर्वाचित भएसँगै उपसभामुख कुन दलले पाउने भन्ने बारे सर्बत्र चासो सुरु भएको छ । संख्याको हिसाबले गरिने उपसभामुख छनोट प्रक्रिया संसदले केही दिनमै गर्नेछ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। अब बस्ने संसद बैठकको अध्यक्षता अर्यालले गर्नेछन्। अर्यालले आजै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सभामुख पदको शपथ ग्रहण गरिसकेका छन् ।

सभामुखको टुंगो लागेसँगै उपसभामुखका लागि दलहरुबीच छलफल र दाउपेच सुरु भएको छ। सत्तारुढ रास्वपाले उपसभामुख कुन पार्टीलाई दिने भनेर आन्तरिक छलफल सुरु गरेको छ। खासगरी सभापति रवि लामिछानेले यस विषयमा छलफल गरिरहेका छन्।

नेपालको संविधानको धारा ९१ को उपधारा (२) मा ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने’ व्यवस्था छ। रास्वपाबाट पुरुष सभामुख भइसकेपछि संवैधानिक रूपमा रास्वपाबाहेक पाँच दलमध्येबाट एक महिला उपसभामुखको उम्मेदवार हुनुपर्नेछ। केही दलले उपसभामुखमा आफ्नो दाबी प्रस्तुत गरिरहँदा केही दल भने रास्वपाले उपसभामुख पद देला कि भनेर आशमा छन्। १८२ सिटसहित प्रतिनिधिसभामा पहिलो दल बनेको रास्वपाले जसलाई उपसभामुख दियो, उही निर्वाचित हुने अवस्था छ।

अंकगणितको हिसाबले एक जना स्वतन्त्र सांसदसहित सबै प्रतिपक्षी दल एकठाउँ हुँदा पनि जम्मा संख्या ९३ पुग्ने भएकाले सबै दल रास्वपाले ‘दिएको लिनुपर्ने’ अवस्थामा छन्।

उपसभामुख पद कार्यकारी नभए पनि संवैधानिक परिषद्मा सदस्य हुने भएकाले यो पदमा दलहरूको रुचि हुने गरेको छ। संवैधानिक परिषद् सदस्यको संवैधानिक नियुक्तिहरूमा भूमिका रहने भएकाले पनि उपसभामुख पदमा दलहरूको बलियो दाबी हुने देखिएको हो । रास्वपाले अब कुन दललाई उपसभामुख दिएर राजनीतिक सहकार्य गर्छ भन्ने विषय चासोपूर्वक हेर्न थालिएको छ। कुनै पनि दलले उपसभामुखमा उम्मेदवारी नदिए रास्वपाले सभामुखसँगै उपसभामुख पद आफैंसँग राख्न पाउने कानुनी व्यवस्था समेत रहेको छ।

तर रास्वपाले सभामुख पाएपछि अब उपसभामुख संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरु नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रमसंस्कृती पार्टीबाट एक महिला संसद बन्नुपर्नेछ।

संसदको प्रमुख प्रतिपक्षी कांग्रेसले भने संसदीय अंकगणितका कारण सभामुखमा दाबी नगरेको तर उपसभामुखमा भने दाबी रहने बताउँदै आएको छ।

कांग्रेसले एमालेले दाबी गरे पनि रास्वपा उसलाई सघाउने पक्षमा देखिदैन। संवैधानिक नियुक्तिहरूमा प्रभाव राख्न पाइने भएकाले रास्वपा कांग्रेसले एमाले र नेकपालाई दिने पक्षमा छ। रास्वपाको जोड भने श्रमसंस्कृति पार्टीलाई उपसभामुख दिएर संसद्मा दुईतिहाइ बहुमत पु-याउनेतिर छ।

सभामुखको मनोनयन दर्ताको दिन रास्वपा सभापति रवि लामिछानेलाई संसद सचिवालय सञ्चारकर्मीले उपसभामुख कुन दललाई दिने भन्ने प्रश्नमा उनले सभामुख चयनपछि मात्र छलफल गर्ने प्रतिक्रिया दिएका थिए । संसदिय गणितअनुसार रास्वपाले जस्लाई चाहायो त्यही दलको सभासभामुख चयन हुने अवस्था रहेको छ ।

शनिबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीसँग उसले छलफल गरेको थियो। यस्तै श्रमसंस्कृतिसँग पनि रास्वपाले एक चरण वार्ता गरिसकेको छ । यद्यपि, उपसभामुख पाइहाले पनि विपक्षी मोर्चामै बस्ने श्रम संस्कृतिको तयारी छ, जुन कुरा रास्वपालाई स्विकार्य देखिँदैन।

रास्वपा आफ्नो संसदको दुई तिहाइ र उपसभामुख अन्य दललाई दिनुपर्ने व्यवस्थामा रास्वपा र राप्रपा मध्ये एक रोज्ने देखिन्छ । कांग्रेस एमालेलाई नदिने र नेकपालाई उपसभामुख दिदा संवैधानिक परिषद्मा नेकपाको २ जना सहभागी हुने र आफुअनुकूल निर्णय गराउन नसक्ने डरमा रास्वपा रहेको छ।

६ सदस्यीय संवैधानिक परिषद्मा बहुमत नगुम्ने गरी उपसभामुख आफूअनुकूलको दल तथा व्यक्तिलाई दिने सोच रास्वपाको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन्। हालको गणितमा सरकारको पक्षमा प्रधानमन्त्री र सभामुख मात्रै रहने देखिन्छ। राष्ट्रियसभा अध्यक्ष नेकपाको तर्फबाट नारायणप्रसाद दाहाल छन् ।

अर्को एक सदस्य प्रमुख प्रतिपक्षी दल (कांग्रेस)को तर्फबाट हुनेछन्। प्रधानन्यायाधीश तटस्थ हुने भएकाले उपसभामुख आफू अनुकूल नभए संवैधानिक परिषद्मा सरकारको बहुमत नपुग्ने देखिन्छ। जसकारण संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिमा समस्या परेर सरकार नै असफल हुन सक्ने चिन्ता रास्वपा पंक्तिमा छ। रास्वपाबाहेक दल मिलेर सरकारलाई संवैधानिक परिषद्मा अप्ठ्यारो पार्ने अवस्था आउन नदिन उच्चस्तरीय समझदारीसाथ उपसभामुखलाई समर्थन गर्ने रास्वपाले जनाएको छ।

त्यसो हुँदा राप्रपाबाट सांसद खुस्बु ओली र सरस्वती लामा मध्ये एक जना सिफारिस हुने छन् भने श्रम संस्कृति पार्टीबाट अम्बिकादेवी संग्रौला, राधिका रम्तेल र रुवि कुमारीमध्ये एक जना उपसभामुख हुने छन्।

राप्रपाले उपसभामुख पाएमा ओली र लामामध्ये एक हुनेछन्। राप्रपाबाट समानुपातिकतर्फ संसदमा पुगेकी खुस्बु ओली हाल राप्रपाको प्रमुख सचेतक छिन्। मोडलिङ क्षेत्रबाट आफ्नो पहिचान बनाएर उनी राजनीतिमा प्रवेश गरेकी हुन् । भने लामा जनजाती कलष्टरबाट संसद प्रवेश गरेकी हुन् ।

श्रमसंस्कृति पार्टीले पनि उपसभामुख पदका लागि उम्मेदवारी दिने बताएको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले आइतवारको बैठकबाट यस विषयमा बाहिरिने बताएका छन्। श्रमसंस्कृती पार्टीबाट अम्बिकादेवी संग्रौला, राधिका रम्तेल र रुवि कुमारीमध्ये एक जना उम्मेदवार बन्ने छन्। तिनै महिला सांसदहरू समानुपातिक तर्फबाट संसद पुगेकी हुन्।

खस–आर्य महिला क्लस्टरबाट समानुपातिक प्रणालीमा सांसद भएकी अम्बिकादेवी संग्रौलाका धरान उपमहानगरमा हर्क साङपाङ मेयर हुँदा श्रमदान अभियानबाट प्रेरित भई श्रमसंस्कृति पार्टीमा आबद्ध भएकी हुन्।

श्रम संस्कृति पार्टीले उपसभामुख हुनसक्ने सम्भावित नाममा राधिका रम्तेल छन्। उनी सुर्खेत बाँबियाचौरको चत्तुरेमा जन्मेकी र हुर्केकी हुन्। सामान्य श्रम गरेर हातमुख जोर्ने पारिवारिक पृष्ठभूमि भएकी उनले सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्दै सदनमा प्रवेश पाएकी हुन्।

संग्रौला र रम्तेल जस्तै उपसभामुखका लागि रुवि कुमारी कर्ण पनि योग्य हुन्। मधेस समुदायको प्रतिनिधित्व गर्दै साङपाङको पार्टीबाट समानुपातिक सांसद बनेकी उनी उपसभामुख बनेमा हालसम्मकै कम उमेरकी उपसभामुख बन्नेछिन्।

श्रम संस्कृति पार्टीका एक नेताका अनुसार रुवि कुमारी पनि योग्य भएकी छन् र ती तीनमध्ये एक जना पठाइनेछ । रुबी कुमारी र राधिकाको सम्भावना प्रबल देखिन्छ। पार्टी अध्यक्ष साम्पाङ र नेताहरूले यी दुईमध्ये एक जनालाई उपसभामुख बनाउने विषयमा छलफल गरेको बताइन्छ। तर श्रम संस्कृतिका धेरै नेता पात्रबारे छलफल नभएको बताउँछन्। यदि कुरा मिल्यो भने उपसभामुख लिएर जाने पक्षमा नेताहरू छन्।

Skip This
Skip This
Logo