काठमाडौं । संसद् सञ्चालनलाई गति दिन र विवादित विषयमा सहमति खोज्न आज सर्वदलीय बैठक बस्दैछ। संघीय संसद् सचिवालयले बिहान ११ बजेका लागि बैठक बोलाएको हो।
बैठकको केन्द्रमा तीनवटा अध्यादेश रहने सम्भावना छ। गृहमन्त्री सुदन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन)’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन)’ अध्यादेश स्वीकृतिका लागि प्रस्ताव ल्याउने तयारीमा छन्। ती अध्यादेशलाई अघि बढाउने विषयमा दलहरूबीच सहमति जुटाउने प्रयास हुनेछ।
संसद्को कार्यतालिका तय गर्नुका साथै सदनलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने विषय पनि छलफलको एजेन्डामा छ। कार्यव्यवस्था परामर्श समिति गठन गर्ने र त्यसलाई २१ सदस्यभित्र सीमित राख्ने विषयमा प्रारम्भिक सहमति खोजिँदैछ।
यसैबीच, नयाँ नियमावली बनाउने प्रक्रिया सुरु गर्ने तयारी पनि गरिएको छ। हाल पुरानै नियमावलीमा आधारित भएर काम चलिरहेको छ, तर आजै नियमावली मस्यौदा समिति गठन हुने सम्भावना छ।
लामो समयपछि सक्रिय हुन लागेको संसद्मा जनताका मुद्दा उठाउने वातावरण बनाउने प्रयासस्वरूप शून्य र विशेष समय सुरु गर्ने तयारी गरिएको छ। सम्भवतः आजकै बैठकबाट सांसदहरूले बोल्न पाउनेछन्।
नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पहिलोपटक बैठक सञ्चालन गर्नेछन्। आइतबार निर्वाचित भएर शपथ लिएका अर्यालका लागि आजको बैठक संसद् सञ्चालनको सुरुआती परीक्षा हुनेछ।































प्रतिक्रिया