काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्वको रस्साकस्सी फेरि सतहमा देखिएको छ । संसदीय दलको नेता चयनका लागि आज बस्ने बैठकले पार्टीभित्रको शक्ति सन्तुलन कता झुक्छ भन्ने संकेत दिनेछ ।
सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा औपचारिक एजेन्डा सार्वजनिक नभए पनि मुख्य फोकस दलको नेता चयनमै रहने बुझिएको छ । सभामुख चयन ढिलाइका कारण पछाडि सरेको प्रक्रिया अब अघि बढ्न लागेको हो।
नेतृत्वका लागि अर्जुननरसिंह केसीदेखि भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राईसम्मको नाम चर्चामा छ । तर वास्तविक प्रतिस्पर्धा भने पार्टीभित्रका दुई धार गगन थापा समूह र शेरबहादुर देउवा समूहबीच केन्द्रित हुने आकलन गरिएको छ ।
कांग्रेसको विधानअनुसार एकभन्दा बढी दाबेदार भए गोप्य मतदानबाट नेता चयन हुन्छ । विगतको अभ्यास हेर्दा सर्वसम्मत सम्भावना न्यून देखिन्छ, त्यसैले फेरि ‘भोटबाटै’ नेता टुंगिने संकेत बलियो छ ।
प्रमुख प्रतिपक्षी दलको नेताको पद केवल दलभित्रको मात्र नभएर संवैधानिक हिसाबले पनि महत्वपुर्ण मानिन्छ । यही पदमार्फत सरकारमाथि दबाब र संसद्मा प्रभाव देखाउने भएकाले कांग्रेसभित्र यो प्रतिस्पर्धा अझ चर्किने देखिएको हो।
अरु दलहरूले आ–आफ्नो नेता चयन गरिसक्दा कांग्रेस भने अझै आन्तरिक समीकरण मिलाउन व्यस्त छ ।































प्रतिक्रिया