म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य मालिका धुरी अब तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ । समुद्री सतहदेखि करिब तीन हजार ४०० मिटर उचाइमा रहेको यो स्थल मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्छ । मङ्गला गाउँपालिका–२ हिदीदेखि मालिकाको फेदी जुगेदेउरालीसम्म सडकको मार्ग खुलेसँगै यहाँ पुग्न तेस्रो सडक विकल्प थपिएको हो ।
यसअघि दरवाङ–बिम–बाइन्दफाँट हुँदै र ठाडाखानी हुँदै मालिकासम्म सडक पुगिसकेको थियो । अहिले हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली हुँदै जोगी देउरालीसम्म करिब ४.५ किलोमिटर सडक मार्ग खुलेको छ ।
स्थानीयको सहयोग र गाउँपालिकाको बजेटबाट निर्माण अघि बढाइएको यो सडक अझै स्तरोन्नतिको चरणमा छ । सबै काम पूरा भएपछि हिदीबाट करिब एक घण्टामै मालिका पुग्न सकिने बताइएको छ । सवारीसाधन सञ्चालनमा आएपछि बेनीदेखि चार घण्टामा यात्रा पूरा गर्न सकिने अनुमान छ ।
यसअघि पैदल यात्रा गर्दा चारदेखि पाँच घण्टा लाग्ने गरेकोमा अब समय उल्लेख्य घट्ने भएको छ । छोटो दूरीका कारण यो मार्ग बेनी–मालिका जोड्ने सबैभन्दा सहज बाटो हुने स्थानीयको विश्वास छ ।
मालिका क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलासहित सूर्योदय, सूर्यास्त र प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । चण्डी, जेष्ठी र कार्तिक पूर्णिमामा यहाँ विशेष पूजाआजा हुने गर्छ । ऐतिहासिक रूपमा विसं १९१० देखि पूजा हुँदै आएको यस स्थलमा कालिका, मालिका र जालपादेवीका मूर्ति रहेका छन् ।































प्रतिक्रिया