कर्णाली। कर्णाली प्रदेश खाद्य सुरक्षाको दृष्टिले देशका अन्य प्रदेशभन्दा अघि रहेको दाबी गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सञ्जिवकुमार कर्णले कर्णालीको माटो र यहाँ उत्पादन हुने खाद्यबाली स्वच्छ र गुणस्तरीय रहेको बताएका छन् ।
सुर्खेतमा आयोजित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कार्यक्रममा बोल्दै उनले कर्णालीले रासायनिक प्रयोग घटाउँदै अर्गानिक उत्पादनमा जोड दिइरहेको उल्लेख गरे । उनका अनुसार यहाँ उत्पादन हुने खाद्यवस्तुमा शरीरलाई आवश्यक पोषक तत्व पर्याप्त मात्रामा पाइन्छ ।
यद्यपि, खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अझै बढाउनुपर्नेमा उनले जोड दिए । सम्बन्धित निकायबीच सहकार्य गर्दै नागरिक तहसम्म सचेतनामूलक कार्यक्रम विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिले सुरक्षित उत्पादन, सचेत उपभोक्ता र जिम्मेवार प्रशासन भए मात्रै गुणस्तरीय खाद्य सुनिश्चित हुने बताए । पछिल्लो समय खानाजन्य रोग र नसर्ने रोग बढ्दै गएकाले स्वच्छ खाना अपरिहार्य बनेको उनीहरूको निष्कर्ष छ ।
सहभागीहरूले आधुनिक जीवनशैलीका कारण खानपानमा आएको परिवर्तनले स्वास्थ्यमा असर परिरहेको औंल्याउँदै ‘आलीदेखि थालीसम्म’ खाद्य सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन् । साथै, उपभोक्ताको सोच र बानीमा सुधार ल्याउन व्यापक जनचेतना आवश्यक रहेकोमा जोड दिएका छन् ।





























प्रतिक्रिया