टीकापुरमा सर्प पहिचान र उद्धार तालिम सञ्चालन

टीकापुरमा सर्प पहिचान र उद्धार तालिम सञ्चालन

केन्द्रबिन्दु
0
Shares

कैलाली। कैलालीको टीकापुर नगरपालिकाले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्वसाधारणलाई सर्प पहिचान र उद्धारसम्बन्धी तालिम दिन थालेको छ। गर्मीयाममा सर्पदंशका घटना बढ्ने भएकाले नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवालाई लक्षित गरी तालिम सञ्चालन गरेको हो।

तालिममा विषालु र अविषालु सर्प छुट्याउने तरिका, सर्पको टोकाइबाट बच्ने उपाय तथा सर्पदंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार र उद्धार प्रक्रियाबारे जानकारी दिइएको छ। टीकापुर नगरपालिका–१ ले विपद् व्यवस्थापनका लागि छुट्याएको बजेटमार्फत यो कार्यक्रम अघि बढाइएको हो।

वडाध्यक्षका अनुसार स्थानीय क्षेत्रमा सर्प देख्ने बित्तिकै मार्ने प्रवृत्ति रहेकाले सर्प चिन्ने ज्ञान दिनु आवश्यक भएको हो। सर्प वातावरणीय सन्तुलनका लागि पनि महत्वपूर्ण हुने भएकाले यसको संरक्षणबारे समेत सचेतना फैलाउने उद्देश्य राखिएको छ।

नगरपालिका तराई क्षेत्र भएकाले विषालु सर्पको जोखिम बढी रहेको छ। यसै कारण उद्धार जनशक्ति तयार गर्ने योजना पनि अघि बढाइएको छ। हाल नगर क्षेत्रमा एकजना मात्र सर्प उद्धारकर्ता रहेकाले आवश्यक अवस्थामा छिटो सेवा दिन कठिनाइ हुने गरेको नगरपालिकाले जनाएको छ।

टीकापुर अस्पतालमा सर्पदंश उपचार सेवा उपलब्ध छ। अस्पतालका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ४७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन्।

नगरपालिकाले आगामी दिनमा थप २० जनालाई उद्धार तालिम दिई उनीहरूलाई बिमा सुविधा सहित स्वयंसेवकका रूपमा परिचालन गर्ने योजना बनाएको छ। यसले सर्पदंशका घटना व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo