अमेरिकी उद्धार मिशन कि युरेनियम चोरीको योजना ?

अमेरिकी उद्धार मिशन कि युरेनियम चोरीको योजना ?

केन्द्रबिन्दु
27
Shares

काठमाडाै‌ । इरानमा खसालिएको अमेरिकी लडाकु विमानका चालक दलको सदस्यलाई बचाउन गरिएको सैन्य अपरेसनलाई लिएर तेहरान र वासिङ्टनबीच आरोप-प्रत्यारोप तीव्र बनेको छ। इरानले अमेरिकी ‘सर्च एन्ड रेस्क्यु’ मिशनलाई केवल एउटा बहाना मात्र भएको र यसको वास्तविक उद्देश्य इरानको संवर्धित युरेनियम भण्डार चोरी गर्नु रहेको गम्भीर दाबी गरेको छ।

के हो घटनाको पृष्ठभूमि ?

गत अप्रिल ३ मा दक्षिण-पश्चिम इरानमा अमेरिकी वायुसेनाको एफ-१५ई लडाकु विमान इरानी सेनाले खसालेको थियो। विमानमा रहेका पाइलटलाई तत्काल उद्धार गरिए पनि हतियार प्रणाली अधिकारी बेपत्ता भएका थिए। उनलाई खोज्नका लागि अमेरिकाले अप्रिल ५ मा भीषण सैन्य शक्ति परिचालन गर्‍यो, जसमा ए-१० थण्डरबाेल्ट आईआई, ब्ल्याक हक हेलिकप्टर र एम‍क्यू-९ रिपर ड्रोनहरू प्रयोग गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “अमेरिकी इतिहासकै सबैभन्दा साहसिक अपरेसन” भन्दै सफलताको घोषणा गरे पनि इरानले भने यसलाई अर्कै रूपमा व्याख्या गरेको छ।

इरानको दाबी: ‘युरेनियम चोरी’को प्रयास

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, “यो मिशन पाइलट बचाउनका लागि मात्रै गरिएको थियो भन्नेमा विश्वास गर्न सकिन्न। यो वास्तवमा हाम्रो संवर्धित युरेनियम चोरी गर्ने एउटा ‘डिसेप्सन अपरेसन’ हुनसक्छ।”

बाकाइले अमेरिकी सेना ओर्लिन खोजेको भनिएको कोगिलुयेह र बोयर-अहमद प्रान्त र उनीहरूको वास्तविक लक्ष्य रहेको मध्य इरानको परमाणु क्षेत्रबीचको दूरी निकै टाढा रहेको भन्दै मिशनमाथि प्रश्न उठाएका छन्।

यसअघि नै ‘वाल स्ट्रिट जर्नल’ ले राष्ट्रपति ट्रम्पले इरानको करिब ४०० देखि ४५० किलोग्राम संवर्धित युरेनियम (जसलाई उनले ‘परमाणु धुलो’ भन्ने गर्छन्) कब्जा गर्न जमिनि सेना पठाउने योजना बनाइरहेको उल्लेख गरेको थियो। ट्रम्पले इरानलाई वार्ताको टेबलमा युरेनियम बुझाउन वा सैन्य कारबाही भोग्न चेतावनी दिँदै आएका छन्।

वैज्ञानिक र विज्ञतामाथि प्रहार

यसैबीच, इरानका थप केही परमाणु वैज्ञानिकहरू मारिएपछि क्षेत्रमा तनाव झनै बढेको छ। हालै परमाणु इन्जिनियरिङका विज्ञ मोहम्मद रेजा किया र वरिष्ठ अनुसन्धानकर्ता अली फौलादवन्द को हत्या भएको छ। इजरायली सुरक्षा स्रोतहरूका अनुसार इरानको परमाणु कार्यक्रमको जग नै उखेल्नका लागि प्रयोगशाला, कारखानादेखि लिएर दक्ष वैज्ञानिकहरूसम्मलाई ‘हिट लिस्ट’ मा राखिएको छ।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आए पनि अमेरिका र इजरायलले भने युद्ध अन्त्य हुनुअघि नै तेहरानको परमाणु हतियार बनाउने क्षमता पूर्ण रूपमा नष्ट गर्ने रणनीति लिएका छन्। इरानले यसलाई आफ्नो राष्ट्रिय सार्वभौमसत्तामाथिको गम्भीर प्रहार भनेको छ।

Skip This
Skip This
Logo