काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि व्यवसायी बलराम सापकोटाले एशोसिएट (खुल्ला) तर्फ कार्यकारिणी समिति सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सापकोटाले उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठको समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
होटल, पर्यटन तथा सेवा क्षेत्रमा ठूलो लगानी गरेका सापकोटा पूर्वी नेपालको झापास्थित पाँचतारे लक्जरी होटल ‘मेची क्राउन’का सञ्चालक हुन्। उम्मेदवारी घोषणा गर्दै सापकोटाले व्यवसायीहरूले भोगिरहेका विद्यमान समस्या समाधानका लागि महासंघलाई अझ प्रभावकारी र सक्रिय बनाउने बताएका छन्।
उनले निजी क्षेत्रको मनोबल उच्च बनाउने, देशमा लगानीमैत्री वातावरण निर्माण गर्ने तथा व्यवसायसँग सम्बन्धित नीतिगत अन्योल हटाउन वर्तमान सरकारसँग निरन्तर सहकार्य र पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सापकोटाद्वारा सञ्चालित झापाको मेचीनगर–धुलाबारीमा अवस्थित मेची क्राउन पूर्वी नेपालकै प्रतिष्ठित पर्यटकीय गन्तव्य मानिन्छ। कोशी प्रदेशको पहिलो पाँचतारे डिलक्स होटलका रूपमा परिचित यस होटलमा २०५ भन्दा बढी सुविधायुक्त कोठा, स्विमिङ पुल, क्यासिनो, हेलिप्याड र अन्तर्राष्ट्रिय स्तरको कन्फरेन्स सुविधा उपलब्ध छ। लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहेका सापकोटाले पछिल्लो समय होटल र पर्यटन क्षेत्रको माध्यमबाट राष्ट्रिय स्तरको उद्योग–व्यापारिक नेतृत्वमा आफ्नो प्रभाव विस्तारलाई प्राथमिकता दिँदै आएका छन्।































प्रतिक्रिया