काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै आज रातिसम्म सम्झौता नगरे एउटा सिङ्गो सभ्यता नै समाप्त हुन सक्ने बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले इरानको ४७ वर्ष लामो भ्रष्टाचार र असुलीको इतिहास अन्त्य हुने समय आएको दाबी गरेका हुन्।
ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मोज’ खोल्नका लागि मंगलबार राति ८ बजे (नेपाली समय अनुसार बुधबार बिहान पौने ६ बजे) सम्मको समयसीमा दिएका छन्। उनले लेखेका छन्, “म चाहन्न तर एउटा सिङ्गो सभ्यता आज राति समाप्त हुन सक्छ। अब त्यहाँ नयाँ र स्मार्ट नेतृत्व आएकाले केही क्रान्तिकारी परिवर्तन हुन पनि सक्छ।”
यता तनावकै बीच इरानको कासान शहरस्थित ‘याह्या आवाद’ रेलवे पुलमा आक्रमण भएको इरानी समाचार एजेन्सी ‘इर्ना’ ले जनाएको छ। उक्त आक्रमणमा परी दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताइएको छ। इजरायली सेनाले इरानी नागरिकहरूलाई सुरक्षाका लागि रेल यात्रा नगर्न चेतावनी दिएको केही घण्टामा नै यो आक्रमण भएको हो। यसैगरी, इरानको तेल निर्यातको मुख्य केन्द्र मानिएको ‘खार्ग टापु’ मा पनि कैयौँ हवाई आक्रमणहरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म आफूहरूले संयमता अपनाएको तर अब अमेरिकी सेनाले ‘लक्ष्मण रेखा’ (रेड लाइन) पार गरेमा त्यसको प्रतिक्रिया क्षेत्रीय स्तरभन्दा बाहिर जाने चेतावनी दिएको छ। इरानले अमेरिका र उसका साझेदार मुलुकका भौतिक संरचनाहरूलाई निशाना बनाउने र वर्षौंसम्म तेल तथा ग्याँस आपूर्ति ठप्प पारिदिने धम्की दिएको छ।





























प्रतिक्रिया