काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध दिएको पछिल्लो अश्लील र आक्रामक धम्कीको जवाफमा विश्वभर रहेका इरानी दूतावासहरूले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक अभियान (ट्रोलिङ) सुरु गरेका छन्।
तेलको मूल्य वृद्धिको कारण बनेको ‘स्ट्रेट अफ हर्मोज’ नखोले इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पारिदिने ट्रम्पको धम्कीपछि इरानी कूटनीतिक नियोगहरूले यस्तो प्रतिक्रिया दिएका हुन्।
अप्रिल ५ मा आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ र ‘एक्स’ मा पोस्ट गर्दै ट्रम्पले इरानलाई निकै तल्लो स्तरको गाली गलौजसहितको धम्की दिएका थिए। उनले लेखेका थिए, “मङ्गलबार इरानका लागि पावर प्लान्ट र पुल ध्वस्त पार्ने दिन हुनेछ। अश्लील शब्द प्रयोग गर्दै उनले समुद्री मार्ग नखोले इरानलाई नर्क बनाइदिने चेतावनी दिएका थिए।” यसअघि पनि ट्रम्पले इरानलाई ‘ढुङ्गे युग’ मा पुर्याइदिने धम्की दिएका थिए।
इरान सरकारले ट्रम्पको यो अभिव्यक्तिलाई ‘मूर्खतापूर्ण’ भन्दै बेवास्ता गरे पनि विश्वभरका इरानी दूतावासहरूले भने रोचक शैलीमा यसको प्रतिवाद गरेका छन्। लण्डनदेखि प्रिटोरिया र नयाँ दिल्लीदेखि मस्कोसम्मका इरानी नियोगहरूले ट्रम्पको मानसिक सन्तुलन र भाषामाथि व्यङ्ग्य गर्दै पोस्टहरू साझा गरेका छन्।
विशेषगरी ट्रम्पको “स्ट्रेट खोल” भन्ने मागमा जिम्बावेस्थित इरानी दूतावासले ‘एक्स’ मा “हामीले साँचो हरायौँ” भन्दै जिस्काएपछि यो विषयले विश्वभर चर्चा पाएको छ। त्यस लगत्तै दक्षिण अफ्रिकास्थित इरानी दूतावासले पनि व्यङ्ग्य थप्दै लेखेको छ, “चुप लाग… साँचो गमलामुनि छ, साथीहरूका लागि मात्र खोल।”
यसैक्रममा बुल्गेरियास्थित इरानी दूतावासले अझ कडा व्यङ्ग्य गर्दै विवादित अमेरिकी व्यवसायी जेफ्री एपस्टिनको प्रसङ्ग जोडेर ट्रम्पमाथि प्रहार गरेको छ। उसले लेखेको छ, “ढोका साथीहरूका लागि सधैँ खुला छ, तर एपस्टिनका साथीहरूलाई भने साँचो नै चाहिन्छ।” ट्रम्पको उत्तेजक भाषाको तुलनामा इरानले अपनाएको यो कूटनीतिक ‘ट्रोलिङ’ ले अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा पाएको छ।





























प्रतिक्रिया