एजेन्सी। इरान र अमेरिकाबीच युद्धविरामको सहमति भएको घोषणा भए पनि क्षेत्रीय तनाव भने तत्काल घट्ने संकेत देखिएको छैन। इजरायलले आक्रमण नरोकिएको पुष्टि गरेको छ, जसले मध्यपूर्वको अवस्था अझै जटिल रहेको देखाउँछ।
इजरायली सैन्य प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनसँग कुरा गर्दै आक्रमण जारी रहेको बताएका छन्। यसले युद्धविरामको दायरा र त्यसमा इजरायलको भूमिका कति स्पष्ट छ भन्ने प्रश्न उठाएको छ।
यता अमेरिकी पक्ष भने फरक दाबीमा देखिएको छ। ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार इजरायल पनि युद्धविराम प्रक्रियाको हिस्सा हो र वार्ता चलिरहँदा बमबारी रोक्न सहमत भइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविराम भएको घोषणा गरेको करिब दुई घण्टापछि इरानले आफ्ना सैन्य गतिविधि रोक्ने संकेत दिएको छ। सरकारी टेलिभिजन आईआरआईबीमार्फत प्रसारित विज्ञप्तिमा सर्वोच्च नेताले सबै सैन्य एकाइलाई गोलीबारी बन्द गर्न निर्देशन दिएको उल्लेख गरिएको छ।
तर, इजरायलको निरन्तर आक्रमणले युद्धविराम प्रभावकारी रूपमा कार्यान्वयन भएको छ कि छैन भन्नेमा अन्योल सिर्जना भएको छ। विश्लेषकहरूका अनुसार तीन पक्षबीचको असमझदारी र फरक–फरक रणनीतिका कारण तत्काल शान्ति कायम हुने सम्भावना कमजोर देखिएको छ।































प्रतिक्रिया