दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण हुँदै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण हुँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले करिब दुई सय वर्ष पुरानो ऐतिहासिक गगनेश्वर महादेव मन्दिरको अधुरो पुनर्निर्माण कार्य पूरा गर्ने भएको छ।

प्रदेश सरकारबाट प्राप्त रकमले निर्माण सुरु भए पनि बजेट अभावका कारण काम बीचमै रोकिएको वडा नं ३२ मा पर्ने उक्त मन्दिरलाई अब तीन तलासहित पूरा गर्ने तयारी गरिएको महानगरले जनाएको छ।

कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतका अनुसार १९९० सालको भूकम्पले पूर्ण क्षति पुर्‍याएको मन्दिरको पुनर्निर्माण प्रक्रियामा पुरातत्व विभागबाट ढिलाइ भएको विषय उठेको छ।

उनले लिखित दस्तावेज नभए पनि गुठियार, जनश्रुति, सामाजिक विश्वास र ऐतिहासिक कथनलाई आधार बनाएर पुनर्निर्माण अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए।

“हामीलाई अब निकास चाहिएको हो। बजेट खर्च गर्न तयार छौँ, तर पुरातत्व विभागले प्रक्रिया भन्दै काम रोक्नु हुँदैन,” सङ्गतले भने।

वडा नं ३२ का वडाध्यक्ष नवराज पराजुलीले भने कुनै पनि विवाद नभएको योजनामा सहमति जुटेपछि मात्र काम अघि बढाइने बताए। उनले जनताको कर सही स्थानमा उपयोग हुनुपर्नेमा जोड दिए।

सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार मन्दिरलाई तीनतले संरचनामा निर्माण गर्ने निर्णय गरिएको छ। सो विषयमा पुरातत्व विभागसँग समन्वय गर्दै थप प्राविधिक अध्ययनपछि निर्माण अघि बढाइनेछ।

महानगरले कोटेश्वर महादेव मन्दिरको पुनर्निर्माण विषयमा पनि छलफल गर्दै सामान्य मर्मतसम्भारसँगै विस्तृत अध्ययनपछि पुनर्निर्माण अघि बढाउने निर्णय गरेको छ।

Logo