धार्मिक पर्यटनको गन्तव्य बन्दै महाराजाथान

धार्मिक पर्यटनको गन्तव्य बन्दै महाराजाथान

केन्द्रबिन्दु
36
Shares

त्रिवेणी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित महाराजा थान धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। कावासोती–१, हात्तीखोरमा रहेको यो मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ।

स्थानीय अग्रजहरूका अनुसार तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो राज्यको सीमा सुरक्षा र शक्तिपीठका रूपमा यो मन्दिर स्थापना गरेका थिए। महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष चेतबहादुर थापाका अनुसार राजाले यहाँ नियमित पूजा गर्ने परम्परा रहेको किंवदन्ती छ।

कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ रहेको यस मन्दिरमा नवलपुरसहित देशका विभिन्न जिल्लाबाट दैनिक श्रद्धालुहरू आउने गरेका छन्। भाकल पूरा हुने विश्वासका कारण यहाँ भक्तजनहरूको आकर्षण बढ्दै गएको समितिले जनाएको छ।अध्यक्ष थापाका अनुसार स्थानीय समुदायले अनुकूल–प्रतिकूल दुवै परिस्थितिमा यहाँ पूजा गर्ने परम्परा कायम राखेका छन्। उनले भने, “यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वासले मानिसहरूको आस्था अझ बलियो बन्दै गएको छ।”

इतिहासअनुसार महामारीको समयमा मानिसहरू रोग–व्याधिबाट बच्न यहाँ बलि चढाउने, कुखुरा, हाँस, परेवा, राँगा, भेडा तथा पाठो अर्पण गर्ने र केही दिन बास बस्ने परम्परा पनि रहेको बताइन्छ।

थारू समुदायले यस मन्दिरलाई विशेष रूपमा पूजा गर्दै आएको छ। सन्तान प्राप्ति, न्वारन तथा नामकरणसमेत यहाँ गर्ने परम्परा रहेको र कतिपयले आफ्ना सन्तानको नाम ‘महाराजा’ वा ‘महाराजी’ राख्ने गरेको पाइएको समितिले जनाएको छ।मन्दिर वरिपरिको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यका कारण यहाँ घुम्न तथा पूजा गर्न आउनेको सङ्ख्या बढ्दो छ। विशेषगरी बडादसैँ र चैतेदसैँमा यहाँ ठूलो मेला लाग्ने गर्दछ।

मन्दिर व्यवस्थापनका लागि २०६९ सालमा समिति गठन गरिएको र संरक्षण तथा विकासका लागि डिपिआर तयार भइसकेको समितिले जनाएको छ। अध्यक्ष थापाले राज्यस्तरबाट थप सहयोग आवश्यक रहेको बताए।कावासोती–१ का कार्यवाहक वडाध्यक्ष ओमबहादुर थापाका अनुसार मन्दिरको भौतिक संरचना निर्माणका लागि वडास्तरबाट बजेट विनियोजन गरिएको छ। उनले प्रदेश र सङ्घीय सरकारबाट पनि सहयोग आवश्यक रहेको बताए।

Logo