पक्राउ पूर्जी जारी भएपछि देउवाले भने- मेराे सम्पत्तिका बारेमा भ्रामक र झुटो प्रचार भयाे

पक्राउ पूर्जी जारी भएपछि देउवाले भने- मेराे सम्पत्तिका बारेमा भ्रामक र झुटो प्रचार भयाे

केन्द्रबिन्दु
2.82k
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु भएको र पक्राउ पूर्जी जारी भएको समाचारहरूप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको र इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाएको समाचारहरू सार्वजनिक भइरहँदा देउवाले विदेशबाटै आफ्नो प्रस्टीकरण दिएका हुन् ।
उनले आफ्नो र परिवारको सम्पत्तिका बारेमा भ्रामक र झुटो प्रचार भइरहेको बताए । उनले सार्वजनिक पदमा रहँदा कानुन अनुसार आफ्नो सम्पत्तिका सबै यथार्थ विवरण सम्बन्धित निकायमा बुझाउँदै आएको दाबी गरे ।

उनको भनाइमा गत भदौमा बुढानीलकण्ठस्थित निवासमा भएको तोडफोडका क्रममा भेटिएको भनिएको रकमका विषयमा फैलाइएका कतिपय कुराहरू ‘एआई-जेनेरेटेड’ र कपोलकल्पित हुन्।

आफ्नो राजनीतिक जीवनलाई ‘खुला किताब’ को संज्ञा दिँदै देउवाले नेपालमा लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि आफूले सम्पूर्ण जीवन समर्पित गरेको उल्लेख गरेका छन् । कानुनी शासन, शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाप्रति आफ्नो अटल विश्वास रहेको बताउँदै उनले भनेका छन्, “मैले नै भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापनाका लागि पहल गरेको हुँ।”

देउवाले आफू र आफ्नो परिवार हाल दीर्घकालीन स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिए । उनले कुनै पनि भ्रामक प्रचार वा ‘मिसइन्फर्मेसन क्याम्पियन’ को पछि नलाग्न सबैमा आग्रह गरेका छन् । अनुसन्धानको प्रक्रिया चलिरहे पनि आफूले सधैं पारदर्शिता र जवाफदेहितालाई आत्मसात गरेको भन्दै उनले भनेका छन्, “यथार्थ समयसँगै खुल्दै जानेछ।”

Skip This
Skip This
Logo