बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध

केन्द्रबिन्दु
9
Shares

दशरथचन्द । बैतडी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै गएको छ। हालसम्म जिल्लामा ६६ हजार २४७ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्।

स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीका अनुसार हालसम्म १६ हजार ४४१ परिवार बिमा कार्यक्रममा समेटिएका छन्। यस कार्यक्रमअन्तर्गत जेष्ठ नागरिक, क वर्गका अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित, एमडीआर-टीबी तथा कुष्ठरोगका बिरामीहरूको निःशुल्क बिमा गरिँदै आएको छ।

त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाको बिमामा सरकारले प्रिमियमको आधा रकम व्यहोर्ने व्यवस्था गरिएको छ।

बिमामा आबद्ध नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार सेवा पाउने व्यवस्था छ। बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र (मेलौली) बिमा सेवा दिने मुख्य सूचीकृत संस्थाका रूपमा रहेका छन्। आवश्यक परे रेफर भएका बिरामीले अन्य अस्पतालमा पनि निःशुल्क उपचार पाउने व्यवस्था छ।

स्वास्थ्य बिमा कार्यक्रममा परिवारको पाँच जनासम्मका लागि वार्षिक रु ३ हजार ५०० प्रिमियम तिरेर रु १ लाख बराबरको उपचार सेवा लिन सकिने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भए प्रत्येक अतिरिक्त सदस्यका लागि थप प्रिमियम तिर्नुपर्ने र उनीहरूलाई थप उपचार सुविधा उपलब्ध हुने गरिएको कार्यालयले जनाएको छ।

स्वास्थ्य बिमाले ग्रामीण क्षेत्रमा स्वास्थ्य उपचार पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

Logo