काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि पूँजी बजार क्षेत्रका अनुभवी व्यवसायी भरत रानाभाटले एसोसिएट तर्फ ज्याेत्सना श्रेष्ठकाे प्यानलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका रानाभाट नेपालको सेयर बजारलाई पारदर्शी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउने अभियानमा सक्रिय व्यक्तित्व हुन् । कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशकसमेत रहेका उनले पूँजी बजारलाई केवल कारोबारको माध्यम मात्र नभई राष्ट्रिय अर्थतन्त्रको बलियो आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले महासंघमार्फत निजी क्षेत्रको संगठित आवाजलाई सशक्त बनाउँदै बैंकिङ र वित्तीय क्षेत्रसँगको समन्वयमा सुधार ल्याउने र लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रानाभाटले विशेषगरी पूँजी बजारमा देखिने तरलताको समस्या, नीतिगत अस्थिरता र लगानीकर्ताको विश्वासमा आउने उतारचढावलाई समाधान गर्न सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याएका छन् । उनले ब्रोकर र लगानीकर्ताबीचको दूरी घटाएर मात्र दिगो बजार विकास सम्भव हुने भन्दै नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउन आफूले उम्मेदवारी दिएको स्पष्ट पारेका छन् । निजी क्षेत्रको संगठित पहल बिना नीतिगत सुधार असम्भव हुने भएकाले एसोसिएट समूहका व्यवसायीहरूको समस्यालाई नीतिगत तहसम्म पुर्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।
रानाभाटले महासंघमार्फत एसोसिएट व्यवसायीहरूको समस्या समाधान, बैंक तथा वित्तीय क्षेत्रसँग समन्वय सुधार र नयाँ लगानी अवसर सिर्जनामा जोड दिने बताएका छन्। महासंघको निर्वाचन चैत २९ र ३० गते काठमाडौंमा हुँदैछ, जसले निजी क्षेत्रको आगामी नेतृत्व र आर्थिक नीति दिशालाई निर्धारण गर्नेछ।































प्रतिक्रिया