बेनीमा ‘वडा पर्यटन परियोजना’ सञ्चालनमा

बेनीमा ‘वडा पर्यटन परियोजना’ सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

म्याग्दी। बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालनमा ल्याएको छ। पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई प्राथमिकता दिँदै १० वटै वडालाई समेटेर योजना अघि बढाइएको हो।

नगरप्रमुख सुरत केसीका अनुसार सबै वडामा परियोजना सञ्चालन गर्न योजना छनोट गरी नगरपालिका, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने नीति अपनाइएको छ। बेनीबजार मुस्ताङको मुक्तिनाथ जाने प्रवेशद्वारका रूपमा चिनिन्छ, त्यसैले यहाँ पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पूर्वाधार निर्माण र प्रचारमा जोड दिइएको छ।

गत आर्थिक वर्षमा बेनी–जोमसोम सडकमार्फत करिब आठ लाख पर्यटक मुस्ताङ पुगेका थिए। यसै सन्दर्भमा पछैमा उद्यान निर्माण र रावणको मूर्ति स्थापना भइसकेको छ भने गलेश्वर बजार सौन्दर्यकरण, लभ्लीहिल पर्यटन पूर्वाधार र शान्ति पार्क निर्माणका योजना अघि बढेका छन्।

गलेश्वर क्षेत्रमा स्लेट ढुङ्गा बिछ्याउने र नाली निर्माण अन्तिम चरणमा छ। लभ्लीहिल र शान्ति पार्कका लागि छुट्याइएको बजेट अनुसार काम कार्यान्वयनमा रहेको छ। चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धनका लागि एक करोड चार लाख रुपैयाँ विनियोजन गरिएको छ।

कालीगण्डकी किनारमा बनेको चक्रपथमा रेलिङ, फुटपाथ र सडक बत्ती जडानको काम अन्तिम चरणमा पुगेको छ। साथै, एक सय वर्ष पुरानो गणेश मन्दिरको पुनर्निर्माण गरिएको छ।

नगरपालिकाले सबै वडाका पर्यटनसम्बन्धी योजना छनोट गरेको छ। वडा नं १ मा झोलुङ्गे पुल र पदमार्ग, वडा नं २ मा लिफ्ट ब्रिज सम्भाव्यता अध्ययन, वडा नं ३ मा बेलढुङ्गा दृश्यावलोकन स्थल, वडा नं ४ मा तातोपानी कुण्ड संरक्षण, वडा नं ५ र ६ मा धार्मिक तथा ऐतिहासिक स्थल विकासका योजना छन्।

वडा नं ७ र ८ मा पदमार्ग निर्माण, वडा नं ८ मा जलेश्वर गुफा र शालग्राम सङ्ग्रहालय, वडा नं ९ मा एकीकृत पर्यटन योजना, र वडा नं १० मा धार्मिक तथा घरबास पर्यटन विकासलाई प्राथमिकता दिइएको छ।

बेनीलाई पर्यटकीय, धार्मिक र आध्यात्मिक केन्द्र बनाउने लक्ष्यसहित कालीगण्डकी र म्याग्दी नदीमा ‘सिल्टेसन ड्याम’ निर्माण गरी ‘स्टिमर’ सञ्चालनको सम्भाव्यता अध्ययन पनि भइरहेको छ।

Logo