बालेन-हर्क सम्बन्धः कति भावनात्मक, कति एजेन्डागत ? [भिडियो]

बालेन-हर्क सम्बन्धः कति भावनात्मक, कति एजेन्डागत ? [भिडियो]


काठमाडाैं । पछिल्लो राजनीतिक परिदृश्यमा प्रधानमन्त्री बालेन्द्र शाह र हर्क साम्पाङ बीचको सम्बन्ध एउटा रोचक, जटिल र बहुआयामिक विषय हो । दुवै नेता ‘वैकल्पिक राजनीति’का प्रतिनिधि पात्रका रूपमा उदाएका कारण उनीहरूको सम्बन्धलाई केवल व्यक्तिगत मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रतीकको रुपमा ब्याख्या गर्नुपर्ने हुन्छ ।

सुरुमा निकै नजिक देखिएको यो सम्बन्ध समयसँगै चिसिँदै गएको थियो, तर फेरि अहिले उनीहरु केही नजिएको जस्तो पनि देखिन्छ, यी परिघटनाहरुले धेरै प्रश्नहरू जन्माएको छ- के यो सम्बन्ध भावनामा आधारित थियो वा एजेन्डामा आधारित ? अहिलेको दूरी व्यक्तिगत हो कि राजनीतिक ? फेरि एकपटक दुई बिचको सम्बन्ध राष्ट्रिय राजनीतिको चर्चाको विषय बनेको छ । संसदको पहिलो बैठकपछि उनीहरुको बिचमा भएको भेट र टेलिफोन नम्बर साटासाटको विषय अहिले निकै चर्चामा छ । यस अगाडि प्रम शाहले बोलाएको सांसदहरुको बैठकमा हर्क सहभागी भएनन् । फेरि मोबाइल नम्बर साटासाट पछि प्रधानमन्त्रीको कार्यकक्षमै गएर हर्कले भेटघाट गरे ।

समानता र सहकार्यको आधार

२०७९ सालको स्थानीय तहको सरकारको निर्वाचनपछि बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर र हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयरका रूपमा उदाए । दुवै स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुनु आफैंमा एउटा सशक्त सन्देश थियो- जनताले परम्परागत दलभन्दा बाहिरको विकल्प खोजिरहेका छन् । यस चरणमा उनीहरूको सम्बन्ध निकै सकारात्मक थियो । दुवै नेताले ‘पारदर्शिता’, ‘जनसहभागिता’ र ‘श्रमको सम्मान’ जस्ता साझा एजेन्डा अघि सारे ।

साम्पाङले धरानमा श्रमदानमार्फत खानेपानी समस्या समाधान गर्ने प्रयास गरे भने बालेनले काठमाडौंमा अव्यवस्थित संरचना हटाउने, प्रशासनिक सुधार गर्ने र सुशासन कायम गर्ने पहल गरे । यी समानताले उनीहरूबीच एक प्रकारको भावनात्मक निकटता पनि निर्माण गरेको देखिन्छ । उनीहरू एकअर्कालाई समर्थन गर्ने, सार्वजनिक रूपमा प्रशंसा गर्ने र वैकल्पिक राजनीतिक धारलाई बलियो बनाउने साझा उद्देश्यमा उभिएका देखिन्थे । यसले जनतामा पनि “नयाँ नेतृत्वबीच सहकार्य हुन्छ” भन्ने आशा पैदा गर्‍यो ।

महत्वाकांक्षा र अवसरको द्वन्द्व

तर, यो सौहार्दता लामो समय टिक्न सकेन । समयसँगै उनीहरूको सम्बन्धमा दरार देखिन थाल्यो, जसको मुख्य कारण राजनीतिक घटनाक्रम र व्यक्तिगत आकांक्षा बन्न पुग्यो । विगत चार वर्षमा सामाजिक संजालमार्फत उनीहरुको बिचमा निकै घोचपेच समेत भयो । विशेषतः ‘जेनजी आन्दोलन’पछि विकसित भएको नयाँ राजनीतिक अवस्थाले यो सम्बन्धमा थप रोचक मोड ल्यायो । आन्दोलनपछिको सरकार गठन प्रक्रियामा विभिन्न शक्ति केन्द्रहरू सक्रिय भए । यही क्रममा हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न इच्छुक रहेको अभिव्यक्ति दिएका थिए।

तर, व्यवहारमा सरकार गठन प्रक्रियामा बालेन शाहको प्रभाव बढि देखियो । बालेनको दवावमा नै सुशीला कार्की प्रधानमन्त्री बनिन् । यसले साम्पाङमा उपेक्षित भएको अनुभूति जन्मायो । आफू पनि वैकल्पिक राजनीतिक धारकै प्रतिनिधि हुँदाहुँदै निर्णय प्रक्रियामा पर्याप्त स्थान नपाएको उनको गुनासो थियो । यही बिन्दुबाट उनीहरूबीचको सम्बन्ध भावनात्मक रूपमा कमजोर हुन थाल्यो र एजेन्डाभन्दा व्यक्तिगत असन्तुष्टि हाबी हुन थाल्यो ।

सामाजिक सञ्जालः सम्बन्धको सार्वजनिक मञ्च

उनीहरूबीचको दूरी सामाजिक सञ्जालमार्फत झन् स्पष्ट रूपमा बाहिर आयो । हर्क साम्पाङले बालेन शाहप्रति लक्षित गर्दै विभिन्न आलोचनात्मक अभिव्यक्तिहरू सार्वजनिक गर्न थाले। उनले नेतृत्व शैली, निर्णय प्रक्रिया र शक्ति सन्तुलनबारे प्रश्न उठाए । उनका अभिव्यक्तिहरूमा आक्रोश, निराशा र असन्तुष्टि प्रस्ट देखिन्थ्यो । उनले आफू पदलोलुप नभई देशका लागि काम गर्न चाहेको दाबी गरे पनि व्यवहारमा उनको असन्तुष्टि व्यक्तिगत अवसरसँग जोडिएको देखिन्थ्यो ।

यता बालेन शाहले भने फरक रणनीति अपनाए । उनले प्रत्यक्ष आक्रामक प्रतिक्रिया दिनुभन्दा संयमित र व्यंग्यात्मक शैली प्रयोग गरे । उनको चर्चित स्टाटस- “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ…”—ले सामाजिक सञ्जालमा ठूलो चर्चा पायो । यो अभिव्यक्ति बहुआयामिक थियो। एकातिर यसले तनाव कम गर्ने प्रयास गरेको जस्तो देखिन्छ भने अर्कोतर्फ आलोचनालाई हल्का बनाउने र आफूलाई परिपक्व नेता रूपमा प्रस्तुत गर्ने बालेन रणनीति पनि देखिन्छ ।

राजनीतिक दृष्टिकोणको भिन्नता

सम्बन्ध चिसिनुको अर्को महत्वपूर्ण कारण उनीहरूको राजनीतिक दृष्टिकोणमा रहेको अन्तर हो । हर्क साम्पाङले आफूलाई प्रतिपक्षीय भूमिकामा राख्ने स्पष्ट संकेत दिएका छन् । तर बालेन भने हर्कको खरो आलोचनालाई कम गर्न उनलाई फकाउन चाहन्छन् । हर्कले सरकारमा सहभागी हुनुभन्दा बाहिर बसेर प्रश्न उठाउने भूमिका रोजेका छन् । यस अतिरिक्त हर्कले प्रधानमन्त्रीका रूपमा बालेनभन्दा रवि लामिछाने लाई उपयुक्त ठानेको अभिव्यक्ति दिएका थिए । यता बालेन शाह भने राष्ट्रिय स्तरमा शक्ति सन्तुलन कायम गर्दै अघि बढ्न खोजिरहेका छन् । उनले व्यवहारमै हर्क साम्पाङलाई उत्तिकै महत्व दिएको आभाष दिन चाहिरहेको देखिन्छ ।

व्यक्तित्व र कार्यशैलीको टकराव

दुवै नेताको व्यक्तित्व र कार्यशैली पनि सम्बन्धमा प्रभाव पार्ने महत्वपूर्ण तत्व बनेको छ । बालेन शाहको शैली प्राविधिक, रणनीतिक र अपेक्षाकृत संयमित छ । उनी कम बोल्ने, तर योजनाबद्ध रूपमा काम गर्ने नेताको रुपमा अगाडि आएका छन् । सार्वजनिक रूपमा उनी धेरै विवादमा नजाने र आफ्नो सन्देशलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने प्रयास गर्छन्। यसको विपरित, हर्क साम्पाङ भावनात्मक, जनताको जनजिब्राेको भाषा बोल्ने नेता हुन् । उनी खुला रूपमा आफ्नो विचार राख्ने, आलोचना गर्ने र जनतासँग प्रत्यक्ष जोडिने शैलीमा विश्वास गर्छन्। सुरुमा यी फरक शैलीहरू पूरक जस्ता देखिए- एकजना रणनीतिक, अर्का जनसम्पर्कमुखी । तर समयसँगै यही भिन्नता टकरावमा परिणत भयो । जहाँ बालेन संयमित रहन्छन्, त्यहाँ साम्पाङ आक्रामक रहँदै प्रत्यक्ष प्रतिक्रिया दिन्छन्। यसले सम्बन्धमा असन्तुलन सिर्जना गरेको थियो ।

भावनात्मक कि एजेन्डागत ?

अब मूल प्रश्न- यो सम्बन्ध कति भावनात्मक र कति एजेन्डागत ? सुरुआती चरणमा यो सम्बन्ध दुवै थियो । साझा एजेन्डाले उनीहरूलाई नजिक ल्यायो भने ‘वैकल्पिक नेतृत्व’को भावनात्मक जोडले सम्बन्धलाई सुदृढ बनायो । तर, जब व्यक्तिगत आकांक्षा र राजनीतिक अवसरबीच द्वन्द्व सुरु भयो, एजेन्डा कमजोर हुँदै गयो र भावनात्मक असन्तुष्टि हाबी हुन थाल्यो । साम्पाङको प्रतिक्रिया बढी भावनात्मक देखिन्छ- उपेक्षा, असन्तुष्टि र आक्रोश, बालेनको प्रतिक्रिया भने रणनीतिक र एजेन्डा–केन्द्रित देखिन्छ- संयम र ब्यंग्य । अब दुई बिचको सम्बन्धमा भावनात्मक पक्ष कमजोर हुने देखिन्छ । किनभने संसदको पहिलो बैठकमा हर्कले उनका एजेण्डाहरुको लामो फेहरिस्त प्रस्तुत गरेका छन् । त्यसैले यसैको आधारमा उनले नयाँ सरकारसँग सम्बन्ध राख्ने देखिन्छ । जस्तो पहिलो संसदमा नै उनले एमसीसी खारेजको माग गरेका छन् ।

नयाँ राजनीतिका लागि पाठ

बालेन शाह र हर्क साम्पाङबीचको सम्बन्ध केवल दुई व्यक्ति बिचमा मात्र सिमित छैन । यो नेपालमा उदाउँदै गरेको नयाँ राजनीतिक संस्कृतिको प्रतिबिम्ब हो । यसले देखाउँछ कि वैकल्पिक राजनीतिमा सहकार्य र प्रतिस्पर्धा सँगसँगै जानसक्छ । साझा एजेन्डा मात्र पर्याप्त हुँदैन- व्यक्तिगत आकांक्षा, शक्ति सन्तुलन र पारस्परिक सम्मान पनि उत्तिकै आवश्यक हुन्छ । जतिसुकै तिक्तताको बिचमा पनि बालेन र हर्कबीचमा तत्कालै संवाद र सहकार्य हुन्छ । त्यही ठाउँमा काँग्रेस र एमालेका नेता र बालेन वा हर्कको बिचमा त्यो सम्बन्ध कायम हुन सक्दैन ।

हालको अवस्थामा बालेन शाह राजनीतिक सन्तुलनका लागि सम्बन्ध सुधारतर्फ इच्छुक देखिन्छन् । उता साम्पाङ अझै आलोचनात्मक भूमिकामा देखिने चाहनामा छन्। भविष्यमा उनीहरू पुनः सहकार्यतर्फ फर्कन्छन् वा प्रतिस्पर्धा अझ तीव्र हुन्छ भन्ने कुरा समयले नै देखाउनेछ । तर, एउटा कुरा स्पष्ट छ- यदि वैकल्पिक राजनीति सफल बनाउने हो भने यस्ता नेताहरूले व्यक्तिगत भावनाभन्दा साझा एजेन्डालाई प्राथमिकता दिनुपर्नेछ । यतिवेला बालेनको प्राथमिकता हो–काँग्रेस र एमालेका नेताले आफ्नो आलोचना गरेपनि वैकल्पिक शक्तिहरुले आफ्नो सरकारलाई भरपुर समर्थन गरुन् । त्यसैले बालेन आज पनि भनिरहेका छन्, ‘ हर्क साम्पाङ आइ लभ यु ।’

Logo