सूर्योदय नगरपालिकाले हटायो चियाको न्यूनतम समर्थन मूल्य

सूर्योदय नगरपालिकाले हटायो चियाको न्यूनतम समर्थन मूल्य

केन्द्रबिन्दु
9
Shares

इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । नगरपालिकाको १८औँ नगर सभाको तेस्रो बैठकले चिया उत्पादनसम्बन्धी पुरानो मापदण्ड संशोधन गर्दै उक्त व्यवस्था हटाउने निर्णय गरेको हो ।

यसअघि ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ अनुसार उद्योगले किसानलाई प्रतिकिलो न्यूनतम रु ४० दिनुपर्ने र केवल ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने व्यवस्था थियो । तर किसान र उद्योगी दुवै पक्षबाट खुला बजारको माग बढेपछि उक्त व्यवस्था खारेज गरिएको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले जानकारी दिए ।

नगरप्रमुख बरालका अनुसार सभाले झन्झटिला र व्यवहारिक रूपमा असहज देखिएका विभिन्न सात वटा ऐन संशोधन गरी पारित गरेको छ । संशोधित ऐनहरूमा विनियोजन ऐन २०८२, आर्थिक ऐन २०८२, शिक्षा, स्वास्थ्य, सवारी तथा यातायात व्यवस्थापन, नगर प्रहरी र सहकारीसम्बन्धी ऐनहरू समावेश छन् ।

नगरपालिकाले चिया क्षेत्रको मूल्य निर्धारण र समर्थन मूल्य तोक्ने अधिकार सङ्घीय सरकारलाई हुनुपर्ने भन्दै आवश्यक निर्णयका लागि सिफारिस गर्ने पनि निर्णय गरेको छ । नगर प्रमुख बरालले चिया उत्पादन, टिपाइ र प्रशोधनसम्म स्थानीय तहले हेर्ने तर मूल्य निर्धारण र बजार व्यवस्थापन केन्द्र सरकारले गर्नुपर्ने धारणा राखे ।

नगरले चिया क्षेत्रका समस्या समाधानका लागि १४ वटै वडाबाट किसान र उद्योगीको सुझाव संकलन गरेको जनाएको छ । साथै, चिया क्षेत्रको विकासका लागि छुट्टै चिया शाखा सञ्चालन गरिने भएको छ ।

यसैगरी, नगर सभाले अन्य महत्वपूर्ण निर्णय पनि गरेको छ । नेपाल चिया विकास निगमअन्तर्गतको चिया बगानलाई स्थानीय सरकारको स्वामित्वमा ल्याउन सङ्घीय सरकारलाई अनुरोध गर्ने, सडक पूर्वाधार सुधार, काठका पोल विस्थापन, र फोहोरमैला व्यवस्थापन परियोजना अघि बढाउने निर्णय गरिएको छ ।

नगरपालिकाले विपद्बाट क्षति भएका सडक मर्मतका लागि प्रत्येक वडामा दुई–दुई लाख रुपैयाँ विनियोजन गरेको छ । करिब २२ करोड रुपैयाँ लागतमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी पनि भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाका अनुसार नगरलाई पारदर्शी बनाउँदै बेरुजु शून्यमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । साथै, नगरका कार्यक्रमहरू प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गर्दै पारदर्शिता कायम गरिएको बताइएको छ ।

Skip This
Skip This
Logo