काठमाडौं । गत फागुन १४ गते कतारको आकाशमा क्षेप्यास्त्र खसेको भिडियोले विश्वव्यापी हलचल मच्चाएको थियो । भारतीय मूलका एक व्यक्तिले खिचेको उक्त भिडियो सामाजिक सञ्जालमा आगोझैँ फैलिएको थियो ।
तर नेपालीहरूले त्यही भिडियोलाई ‘कट’ गरेर आफ्नो फेसबुक र टिकटकमा पोस्ट गर्न थाले । केही घण्टाभित्रै कतार सरकारले सो सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई नियन्त्रणमा लियो ।
त्यसको केही दिनपछि दुबईको बुर्ज खलिफा आसपास मिसाइल खसेको भिडियो एक नेपालीले पोस्ट गरे । जनमानसमा त्रास फैलाउने यो भिडियोले दुबई प्रहरीको ध्यान तान्यो । प्रहरीले तत्काल पक्राउ गरे पनि अबुधाबीस्थित नेपाली दूतावासको हस्तक्षेपपछि दुई दिनको सोधपुछमा उनी रिहा भएका थिए । यी दुई घटनाले नेपालमा रहेका श्रमिक परिवारलाई समेत आत्ताएको थियो । तर यो सुरुवात मात्र थियो ।
इरानले इजरायल–अमेरिका द्वन्द्वको क्रममा खाडी मुलुकका अमेरिकी सैन्य आधारमा ड्रोन र क्षेप्यास्त्र प्रहार गर्न थालेपछि पश्चिम एसियाको आकाशमा भयको माहौल बनेको थियो । ठ्याक्कै त्यही बेला नेपाली श्रमिकहरूले खिचेका ‘मिसाइल खस्दै गरेको’ र ‘मानिस आत्तिएका’ भिडियोहरू फेसबुक, टिकटकमा जताततै फैलिन थाले । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ११ जना नेपाली यही अभियोगमा पक्राउ परेका छन् । जहाँ यूएईबाट ३ जना, साउदी अरेबियाबाट ४ जना, कतारबाट ३ जना र ओमानबाट १ जना रहेका छन् ।
यी सबै नेपालीलाई भ्रमपूर्ण फोटो÷भिडियो खिच्ने, पोस्ट गर्ने र अफवाह फैलाउने आरोप लागेको छ । यूएईस्थित नेपाली दूतावासले यो घटनाक्रम सुरु भएदेखि नै ‘एड्भाइजरी’ जारी गर्दै अपुष्ट सामग्री नपोस्ट गर्नुहोस्, आधिकारिक सूचनामात्र विश्वास गर्नुहोस् भन्दै बारम्बार आग्रह गरेको थियो । दुबई प्रहरीले सुरुमा सम्झाएर, भेटघाट गरेर नै भिडियो नखिच्न र पोस्ट नगर्न भनेको थियो । तर केही नेपालीले स्थानीय कानुनलाई गम्भीरतापूर्वक नलिँदा यो स्थिति आएको हो ।
त्यति मात्र होइन द्वन्द्वको प्रत्यक्ष मारमा नेपाली श्रमिकमाथि परिरहेको छ । नेपाली दूतावासका अनुसार हालसम्म द्वन्द्वमा परी २८ जना नेपाली घाइते भएका छन् । जहाँ यूएईमा २५, इराकमा २ र ओमानमा १ जना जना घाइते भएका छन् । तीमध्ये २७ जना सामान्य उपचारपछि काममा फर्किसकेका छन् भने एकजनाको हातमा चोट लागेको छ ।
त्यस्तै गत मार्च २ मा अबुधाबीको अवजान क्षेत्रमा ड्रोन आक्रमणमा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो ।





























प्रतिक्रिया