चन्द्रमा परिक्रमा गरी सकुशल फर्किए चार अन्तरिक्षयात्री, मंगल ग्रहसहित सौर्यमण्डलका अन्य गन्तव्यको ‘प्रक्षेपण प्याड’ बन्ला त चन्द्रमा ?

चन्द्रमा परिक्रमा गरी सकुशल फर्किए चार अन्तरिक्षयात्री, मंगल ग्रहसहित सौर्यमण्डलका अन्य गन्तव्यको ‘प्रक्षेपण प्याड’ बन्ला त चन्द्रमा ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली समयअनुसार शनिबार बिहान ५ः४५ बजे नासाको ओरियन अन्तरिक्षयान प्रशान्त महासागरमा टेक्स्टबुक ल्यान्डिङ गर्दै सफलतापूर्वक अवतरण गरेको छ । चन्द्रमाको परिक्रमा पूरा गरेर फर्किएका चार अन्तरिक्षयात्री पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको पुष्टि गर्दै कमाण्डर रिड वाइजम्यानले भनेका हुन् ।

यो मिसन अप्रिल २ मा फ्लोरिडाको केप क्यानाभेरलस्थित केनेडी स्पेस सेन्टरबाट सुरु भएको थियो । नौ दिनभन्दा बढीको यो अभियानमा अन्तरिक्षयात्रीहरूले मानव इतिहासकै सबैभन्दा टाढाको दूरी अर्थात पृथ्वीबाट ४ लाख ६ हजार ७७८ किलोमिटर टाढासम्म यात्रा गरेका थिए । अप्रिल ६ मा उनीहरूले अपोलो १३ को रेकर्ड तोड्दै यो उपलब्धि हासिल गरेका हुन् ।

मिशनका क्रममा टोलीले चन्द्रमाको अँध्यारो पक्षको फोटो खिचेका थिए । चन्द्रमाको पछाडि पुगेपछि करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क विच्छेद भएको थियो, जुन पूर्वानुमानित नै थियो । सम्पर्क पुनः स्थापित भएपछि मिसन विशेषज्ञ क्रिस्टिना कोचले पृथ्वीबाट फेरि आवाज सुन्न पाउँदा अत्यन्तै राम्रो लागेको बताएकी थिइन् । त्यस्तै पाइलट भिक्टर ग्लोभरले आफूहरुले जे देख्यौं, त्यसलाई वर्णन गर्न शब्द नै नभएको बताए । कमाण्डर वाइजम्यानले पनि “अहिलेसम्म कुनै मानवले नदेखेका दृश्य” आफूहरुले देखेको बताएका थिए । मिशन टोलीमा कमाण्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, मिसन विशेषज्ञ क्रिस्टिना कोच र अर्का मिसन विशेषज्ञ जेरेमी हेन्सन गएका थिए ।

यो टोली सन् १९७२ को अपोलो कार्यक्रमपछिको ५० वर्षभन्दा बढी समयमा चन्द्रमाको यति नजिक पुग्ने पहिलो मानव टोली हो । उनीहरूले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ४० हजारदेखि ४२ हजार किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरेका थिए, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फर्कने यानभन्दा निकै छिटो थियो ।

आर्टेमिस–२ को मुख्य उद्देश्य ओरियन यानको जीवन समर्थन प्रणाली र मानव सुरक्षालाई परीक्षण गर्नु थियो । यानले चन्द्रमाको सतहमा अवतरण नगरे पनि यसले सन् २०२८ मा हुने मानव अवतरण (आर्टेमिस–३) र त्यसपछिको स्थायी चन्द्र आधार निर्माणको लागि मार्ग प्रशस्त गरेको छ । नासाको दीर्घकालीन लक्ष्य चन्द्रमालाई मंगल ग्रहसहित सौर्यमण्डलका अन्य गन्तव्यको ‘प्रक्षेपण प्याड’ बनाउनु रहेको हो । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टोलीलाई बधाई दिँदै व्हाइट हाउसमा आमन्त्रण गरेका छन् ।

Logo