काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई भेटवार्ताका लागि बालुबाटारमै बोलाएका हुन् । आजको छलफलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त समेत उपस्थित भएको स्रोतले बतायो । बालुवाटारको बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य रावल, पाण्डे र पन्त वरिष्ठ नेता नेपाल निकट हुन् ।
प्रधानमन्त्री ओलीले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि वरिष्ठ नेता नेपालसँग सहयोगको आग्रह गरेका छन् । वरिष्ठ नेता नेपालसहितका स्थायी कमिटी सदस्यसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग सहयोग मागेका हुन् । आजको भेटमा वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि प्रधानमन्त्रीका तर्फबाट प्रस्ताव के के छन् राख्न आग्रह गरेको स्रोतको जानकारी दियो ।
शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरुले पार्टीको बैठक बोलाउन प्रधानमन्त्री ओलीसँग लिखित माग गरेका थिए । सचिवालय बैठक बोलाउन लिखित माग गर्नेहरुमा कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका थिए । शनिबारको बैठकमा उपस्थित हुँदा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । यस अघि पनि कार्तिक ५ र ११ गते प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेका थिए । ती भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेका थिए । तर, वरिष्ठ नेता नेपालले पटक पटक विधि र पद्धतिमा जोड दिँदै आएका छन् ।
शनिबार बालुवाटार पुगेका कार्यकारी अध्यक्ष दाहालसहितका शीर्ष नेताले प्रधानमन्त्री ओलीलाई सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका थिए । उक्त आग्रहपछि एक दुई दिनमै नेकपाको सचिवालय बैठक बस्ने अपेक्षा गरिएको थियो । तर अहिलेसम्म पनि सचिवालय बैठक बस्ने कुनै मिति तय हुन सकेको छैन । बरु झन दुई अध्यक्ष बीच आरोप र प्रत्यारोप चलेको छ ।





























प्रतिक्रिया