अमेरिकी उपराष्ट्रपति भान्स र इरानी उच्च अधिकारीहरू ऐतिहासिक वार्ताका पाकिस्तानमा

अमेरिकी उपराष्ट्रपति भान्स र इरानी उच्च अधिकारीहरू ऐतिहासिक वार्ताका पाकिस्तानमा

केन्द्रबिन्दु
39
Shares

इस्लामावाद । झण्डै पाँच दशक लामो कूटनीतिक गतिरोध र हालैको भीषण सैन्य तनावका बीच अमेरिका र इरानबीचको ऐतिहासिक शान्ति वार्ता आज पाकिस्तानको राजधानी इस्लामावादमा सुरु हुँदैछ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई कट्टर प्रतिद्वन्द्वी मुलुकबीच हुन लागेको यो अहिलेसम्मकै उच्च स्तरीय प्रत्यक्ष वार्ता हो।

वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज बिहान विशेष विमान ‘एयर फोर्स टु’ मार्फत इस्लामावाद अवतरण गरेका छन् । उनको साथमा वरिष्ठ अमेरिकी दूतहरू जेरेड कुश्नर र स्टिभ विट्कोफ समेत रहेका छन्। विमानस्थलमा उनलाई पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर र उपप्रधानमन्त्री मोहम्मद इसाक डारले भव्य स्वागत गरेका थिए। प्रस्थान गर्नुअघि उपराष्ट्रपति भान्सले इरान इमानदार भए आफूहरू खुला हृदयले वार्ता गर्न तयार रहेको बताएका छन् ।

इरानका तर्फबाट संसदका सभामुख मोहम्मद बागेर गालीबाफ र विदेशमन्त्री अब्बास अराघची नेतृत्वको टोली हिजै इस्लामावाद पुगिसकेको छ। इरानी टोलीको सुरक्षाका लागि पाकिस्तानी वायुसेनाका लडाकु विमान र विशेष एवाक्स प्रणालीले आकाशबाटै सुरक्षा घेरा प्रदान गरेका थिए। इरानी टोलीले आज दिउँसो पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्ने तालिका छ।

यो वार्तालाई ‘मेक अर ब्रेक’ अर्थात् वारपारको स्थितिको रूपमा हेरिएको छ। ६ हप्ताअघि अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि दुई देशबीचको युद्धले चरम रूप लिएको थियो। चीन, कतार र साउदी अरब जस्ता मुलुकहरूको विशेष मध्यस्थतामा पाकिस्तानले यो उच्च स्तरीय संवादको वातावरण तयार पारेको हो।

वार्तामा मुख्यगरी दीर्घकालीन युद्धविराम, इरानमाथिको आर्थिक प्रतिबन्ध, लेबनानमा जारी संघर्ष र लाल सागरको सुरक्षा जस्ता गम्भीर मुद्दाहरूमा छलफल हुनेछ। इरानी सभामुख गालीबाफले अमेरिकाले इरानको अधिकारलाई सम्मान गरे मात्रै सम्झौता सम्भव हुने सञ्चारकर्मीहरूलाई बताएका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पाकिस्तान सरकारले इस्लामावादमा दुई दिने सार्वजनिक बिदा घोषणा गरेको छ भने १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यतिबेला इस्लामावाद पूर्ण रूपमा सुरक्षा घेराभित्र रहेको छ ।

Skip This
Skip This
Logo