काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको निर्यात व्यापारको मेरुदण्डको रूपमा रहेको गलैँचा उद्योगको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले आगामी बजेटमा ठोस व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घको ८ औँ साधारणसभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो आश्वासन दिएका हुन् ।
सम्बोधनका क्रममा मुख्यमन्त्री बानियाँले कुनै समय नेपालको वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत रहेको गलैँचा निर्यातमा पछिल्लो समय आएको ह्रासप्रति चिन्ता व्यक्त गरे । उनले निर्यात किन घट्यो र यस क्षेत्रमा नयाँ उद्यमीहरूलाई किन आकर्षण गर्न सकिएन भन्नेबारे गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए ।
गलैँचा उद्योगका लागि आवश्यक कच्चा पदार्थको अभावलाई सम्बोधन गर्न मकवानपुरको चितलाङ, मार्खु तथा रसुवा र नुवाकोटका भेडा फार्महरूलाई पुनर्जीवित गरी ऊन उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले ललितपुरलाई हस्तकलाको राजधानी घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै हस्तकला र गलैँचा क्षेत्रलाई कला र संस्कृतिको प्रतीकका रूपमा संरक्षण गरिने बताए । उनले सीमान्तकृत र विपन्न समुदायका नागरिकलाई गलैँचा बुन्ने आधुनिक तालिम दिएर रोजगारीसँग जोड्न सरकारले लगानी गर्ने स्पष्ट पारे ।
“तपाईंहरूले चाहेको र खोजेको के हो, ठोस प्रस्ताव लिएर आउनुहोस्, प्रदेश सरकारको नीति तथा कार्यक्रम र असार १ गते आउने बजेटमा हामी त्यसलाई व्यवस्थापन गर्न तयार छौँ,” उनले भने ।
व्यवसायीहरूले उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) र निर्यातका समस्याहरूबारे चर्चा गर्दै मुख्यमन्त्रीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति बनाइने बताए । उनले राजनीतिलाई समाजसेवा र उद्योग-व्यवसायलाई जीवन चलाउने आधारका रूपमा व्याख्या गर्दै ‘गरी खाने’ वर्गको जीवनस्तर उकास्नु नै गणतन्त्र र सङ्घीयताको मुख्य उद्देश्य रहेको उल्लेख गरे । नेपाली गलैँचालाई विश्व बजारमा बलियो ब्रान्डका रूपमा स्थापित गर्न मार्केटिंग र ब्रान्डिङमा सहकार्य गर्न समेत उनले व्यवसायीहरूलाई आग्रह गरे ।































प्रतिक्रिया