मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शिक्षाको विकास र गुणस्तर सुधार नै समृद्धिको मुख्य आधार भएको बताएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १० स्थित श्री प्रशिद्ध माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो धारणा राखेका हुन् ।
मुख्यमन्त्री बानियाँले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्न प्रदेश सरकारले भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गर्ने आश्वासन दिए । उनले विद्यालयको स्वर्ण जयन्ती गौरवको विषय भएको भन्दै यस क्षेत्रको शैक्षिक उन्नतिका लागि संस्थापक र स्थानीय समुदायले पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
मुख्यमन्त्री बानियाँले बकैया क्षेत्रको मुख्य समस्याको रूपमा रहेको बागमती नदी र स्थानीय खहरे खोलाहरूको कटान नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताए । उनले तटबन्ध निर्माण गरी बस्ती र जमिनको सुरक्षा गर्न व्यवस्थित योजनासहित बजेट विनियोजन गरिने र विकासका काममा कुनै कसर बाँकी नराख्ने उद्घोष गरे ।
स्थानीय गाउँपालिकाको विकास र यहाँका नागरिकको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले हातमा हात मिलाएर अघि बढ्ने उनको भनाइ थियो।































प्रतिक्रिया