प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी तीव्र, सैद्धान्तिक सहमति भइसकेको तर मिति तय गर्न बाँकी

प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी तीव्र, सैद्धान्तिक सहमति भइसकेको तर मिति तय गर्न बाँकी

केन्द्रबिन्दु
822
Shares

काठमाडौं । नेपालको नयाँ सरकार गठन भएको दुई साता नबित्दै भारतसँग उच्चस्तरीय भ्रमणको तयारीले गति लिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दुई देशबीच सैद्धान्तिक सहमति भइसकेको छ । तर, भ्रमणको मिति तय हुनुअघि नेपालले आफ्ना प्राथमिकता निर्धारण गर्ने र द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउने प्रक्रिया पूरा गर्नुपर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाह प्रधानमन्त्री निर्वाचित भएपछि बधाई सन्देशसहित भारत भ्रमणको निम्तो दिएका थिए । शाहले त्यसको जवाफमा ‘उचित समयमा भारत भ्रमण गर्ने’ उल्लेख गरेका थिए । परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे पुष्टि गर्दै प्रधानमन्त्री शाहले नै भारत भ्रमणको इच्छा व्यक्त गरेको जानकारी दिएका छन् ।

खनालले यो जानकारी मोरिससको पोर्ट लुइसमा नवौं हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको द्विपक्षीय भेटवार्तामा दिएका हुन् । यो खनालको नयाँ सरकार गठनपछि पहिलो विदेश भ्रमण थियो । भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम, नयाँ सरकारको परराष्ट्र नीति समीक्षा र उच्चस्तरीय भ्रमणको सम्भावनाबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

खनालले विदेशमन्त्री जयशंकरलाई नेपाल र भारतबीच अत्यन्त गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध रहेको र आफूले दुई देशको सम्बन्धका प्राथमिकता निर्धारण गर्दै उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको जानकारी दिएका थिए । त्यस्तै जयशंकरले यो प्रस्तावलाई सकारात्मक रूपमा लिएको पनि खनालले बताए ।

हालसम्म नेपाल र भारतबीच ४० भन्दा बढी द्विपक्षीय संयन्त्रहरू सञ्चालनमा छन् । यी संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय बनाएर संवाद र सहकार्यलाई सघन बनाउने सहमति दुई विदेशमन्त्रीबीच भएको छ । यसले व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, पर्यटन र सीमा व्यवस्थापनजस्ता क्षेत्रमा ठोस प्रगति सम्भव बनाउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीस्तरीय भ्रमण हुनुअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो भ्रमण एक महिनाभित्रै हुन सक्नेछ । यो सद्भावना भ्रमणसँगै उच्चस्तरीय भ्रमणको प्राविधिक तयारी पनि हुनेछ । मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको भ्रमणअघि परराष्ट्रमन्त्री खनालको भारत भ्रमण हुने पुरानो प्रचलनअनुसार सम्भावना पनि छ । यसले भ्रमणको एजेन्डालाई थप परिष्कृत बनाउने छ ।

नेपाल–भारत सम्बन्ध दुई देशका लागि मात्र होइन, क्षेत्रीय स्थिरता र विकासका लागि पनि निर्णायक छ । व्यापार, ऊर्जा निर्यात, सडक–रेल कनेक्टिभिटी, पर्यटन र जनस्तरको सम्बन्ध यसको मुख्य आधार हुन् । नयाँ सरकारले परराष्ट्र नीतिको समीक्षा गरिरहेको बेला यो भ्रमणले दुई पक्षीय एजेन्डालाई स्पष्ट आकार दिनेछ ।
परराष्ट्रमन्त्री खनालले सम्मेलनका क्रममा भुटान, बंगलादेश, मौरिसस र सिंगापुरका विदेशमन्त्रीहरूसँग पनि भेट गरेका थिए । तर, भारतसँगको छलफल सबैभन्दा महत्वपूर्ण मानिएको छ ।

अबको केही साताभित्र भारतीय विदेश सचिव मिश्रीको भ्रमणले तयारीको गति निर्धारण गर्नेछ । प्रधानमन्त्री शाहको भारत भ्रमणले नयाँ नेपाल र नयाँ भारतबीचको सम्बन्धलाई थप मजबुत र भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ । तयारी पूरा भएपछि मात्र मिति तय हुने भए पनि दुई देशबीचको यो सैद्धान्तिक सहमति नै नयाँ सरकारको परराष्ट्र नीतिको पहिलो ठोस उपलब्धि मानिएको छ ।

Logo