काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म चलेको इरान र अमेरिकाबीचको प्रत्यक्ष वार्ता करिब १४ घण्टासम्म लम्बिएर अस्थायी रूपमा स्थगित भएको छ । दुवै पक्षबीच केही प्रमुख मुद्दामा मतभेद कायमै रहे पनि वार्ता पूर्ण रूपमा बन्द भएको छैन ।
पाकिस्तानको मध्यस्थतामा भएको यो वार्ता सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछिको ४७ वर्षयताको पहिलो उच्चस्तरीय आमनेसामने भेट हो । इरानी सरकारका अनुसार प्राविधिक टोलीहरूले मस्यौदा र कागजात आदानप्रदान गरेका छन् भने आइतबार दोस्रो चरणको छलफल पुनः सुरु हुने सहमति भएको छ । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् ।

उनीसँग राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफ सहभागी छन् । इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् भने विदेशमन्त्री अब्बास अराघचीसहित उच्च अधिकारीहरूको टोली समावेश छ । वार्ता इस्लामावादको सेरेना होटलमा भएको थियो ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको छ हप्ताको युद्धले मध्यपूर्वलाई हिंसाको चपेटामा पारेको थियो । अप्रिल ८ मा पाकिस्तानको मध्यस्थतामा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि मात्र यो वार्ता सम्भव भएको हो । विश्वको करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुने रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेर इरानले विश्व अर्थतन्त्रलाई नै धक्का दिएको थियो । अमेरिकी नौसेनाले हालै दुई युद्धपोत उक्त घाँटीबाट पार गराएको छ र ट्रम्पले ‘अवरोध हटाउने प्रक्रिया सुरु’ गरेको घोषणा गरेका छन् ।
वार्तामा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र, कानुन र आणविक कार्यक्रमका विषयमा गहन छलफल भएको छ । जहाँ इरानले लेबनानमा इजरायलका आक्रमण तत्काल रोक्नु, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नु, युद्धको क्षतिपूर्ति दिनु र हर्मुज घाँटीमा आफ्नो नियन्त्रण कायम राख्ने प्रमुख मागहरू राखेको छ । अमेरिकाले भने हर्मुज घाँटी विश्वव्यापी ढुवानीका लागि पूर्ण रूपमा खुला र सुरक्षित बनाउनु तथा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने अडान राखेको छ । केही विषयमा सहमति नजुटे पनि दुवै पक्षले वार्ता जारी राख्ने बताएका छन् ।

वार्तामा इरानी प्रतिनिधिमण्डल दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र युद्धमा मारिएकाहरूको शोकमा कालो पोशाकमा उपस्थित भएका थिए । सभामुख गालिबाफले विमानमा फेब्रुअरी २८ को मिनाब प्राथमिक विद्यालय आक्रमणको तस्बिर सेयर गरेका थिए । उक्त आक्रमणमा १६८ जना बालबालिका र शिक्षक मारिएका थिए । इरानी टोलीले रगत लतपतिएका स्कुल झोला, जुत्ता र चार बालबालिकाको तस्बिरसमेत वार्तास्थलमा ल्याएको थियो ।
अर्कोतर्फ वार्ता सुरु हुनुअघि ट्रम्पले ‘शान्ति सम्झौता नभए फेरि भीषण आक्रमण’ गर्ने चेतावनी दिएका थिए । उपराष्ट्रपति भान्सले ‘इरानले चलाखी नगर्नु’ बताएका छन् । यद्यपि, पाकिस्तानले मध्यस्थताको भूमिका निर्वाह गर्दै दुवै पक्षलाई टेबलमा ल्याउन सफल भएको छ ।

यस्तोमा विश्रामपछि केही समयपछि नै दोस्रो चरण सुरु हुनेछ । अप्रिल १४ मा अमेरिकामा लेबनान–इजरायल युद्धविरामबारे छुट्टै वार्ता तय भएको छ । यी छलफलले न केवल इरान–अमेरिका द्वन्द्वको भविष्य, बरु विश्व ऊर्जा आपूर्ति, मध्यपूर्व स्थिरता र आणविक प्रसारको नियन्त्रण निर्धारण गर्नेछन् ।































प्रतिक्रिया