कहाँ रोकियो इरान-अमेरिका वार्ता ?

कहाँ रोकियो इरान-अमेरिका वार्ता ?

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । मध्यपूर्वमा जारी तनाव र युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा आयोजित उच्चस्तरीय शान्ति वार्ता कुनै सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन र म्याराथन छलफलपछि पनि अमेरिकी पक्षले राखेका सर्तहरूमा इरानले असहमति जनाएपछि वार्ता निष्कर्षविहीन बनेको हो।

इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार इरानी प्रतिनिधिमण्डलले आफ्ना नागरिकको राष्ट्रिय हित संरक्षणका लागि विभिन्न रचनात्मक प्रस्तावहरू अघि सारेको थियो। तर, अमेरिकी प्रतिनिधिमण्डलले राखेका “अनुचित मागहरू” का कारण वार्ताले ठोस मोड लिन नसकेको इरानको दाबी छ।

कहाँ पुगेर राेकियाे वार्ता ?

आणविक विवाद: वार्ताको सबैभन्दा ठूलो बाधक इरानको आणविक कार्यक्रम बनेको छ। वासिङ्टनले इरानले भविष्यमा आणविक हतियार बनाउन नसक्ने गरी कडा र ग्यारेन्टीयुक्त प्रतिबन्धहरू लगाउनुपर्ने अडान राखेको थियो। तर, तेहरानले यसलाई आफ्नो ‘सार्वभौम अधिकार’ माथिको हस्तक्षेप भन्दै अस्वीकार गरिदियो।

हर्मुज जलडमरू: विश्वको २० प्रतिशत तेल आपूर्ति हुने यस रणनीतिक जलमार्गमा इरानले त्यहाँ ट्रान्जिट शुल्क उठाउने र आफ्नो प्रभुत्व कायम राख्ने अधिकार खोजेको छ भने अमेरिकाले यसलाई पूर्णतः खुला र अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्न जोड दिएको छ।

आर्थिक प्रतिबन्ध र सम्पत्ति: इरानले कतार लगायतका देशमा रोक्का गरिएको आफ्नो अर्बौँ डलर फिर्ता गर्नुपर्ने सर्त राखेको थियो, जसमा अमेरिकी अधिकारीहरूले असहमति जनाएका छन्।

क्षेत्रीय माग र युद्धको क्षतिपूर्तिको मुद्दाः इरानले वार्ताको दायरालाई बढाउँदै लेबनान सहितको क्षेत्रमा पूर्ण युद्धविराम र युद्धको क्षतिपूर्तिको माग अघि सारेको थियो। यद्यपि, अमेरिका केवल आणविक सुरक्षा र समुद्री मार्गको विषयमा मात्र केन्द्रित रहन चाहेकाले दुई देशको प्राथमिकतामा मेल खान सकेन।

आपसी अविश्वास र तनावपूर्ण वातावरणः वार्ता अवधिभर दुवै पक्षबीच गम्भीर अविश्वास र तनाव देखिएको थियो। २१ घण्टाको छलफलका क्रममा कूटनीतिज्ञहरूबीच “मुड स्विङ” र आक्रोशका घटनाहरू भएको बताइएको छ । इरानी प्रतिनिधिमण्डलले नागरिक हताहतीका सांकेतिक तस्बिरहरू बोकेर वार्तामा पुग्नु र दुवै पक्षले एकअर्कालाई लचिलो नभएको आरोप लगाउनुले वातावरण झनै जटिल बनाएको थियो।

Skip This
Skip This
Logo