काठमाडाैं । पाकिस्तान र साउदी अरबबीचको सैन्य सम्बन्धमा नयाँ आयाम थपिएको छ। दुई देशबीच गत वर्ष भएको ‘संयुक्त रणनीतिक रक्षा सम्झौता’ अन्तर्गत पाकिस्तानले साउदी अरबमा १३ हजार सैनिक र १८ वटासम्म लडाकु विमान तैनाथ गरेको छ।
साउदी अरबको पूर्वी क्षेत्रस्थित किङ अब्दुलअजिज एयर बेसमा तैनाथ गरिएको यो सैन्य दस्ताले दुई देशका सशस्त्र बलहरूबीचको परिचालन क्षमता र आपसी समन्वयलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । साउदी रक्षा मन्त्रालयका अनुसार यो कदम क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा एवं स्थिरताका लागि चालिएको हो। यस सम्झौताको सबैभन्दा महत्त्वपूर्ण प्रावधानअनुसार अब कुनै एक देशमाथि हुने बाह्य आक्रमणलाई दुवै देशले आफूमाथि भएको आक्रमण सरह मान्नेछन्।
अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरूका अनुसार साउदी अरबमा यसअघि नै करिब १० हजार पाकिस्तानी सैनिक उपस्थित थिए । पछिल्लो समय खाडी क्षेत्रमा बढेको तनाव र इरानद्वारा अमेरिकी सैन्य आधारहरूमा गरिएको आक्रमणको पृष्ठभूमिमा पाकिस्तानले साउदी अरबलाई मिसाइल इन्टरसेप्टरहरू समेत पठाएको खुलासा भएको छ।
सैन्य सहकार्यसँगै साउदी अरबले आर्थिक संकटमा फसेको पाकिस्तानलाई ठूलो आर्थिक राहत समेत प्रदान गर्ने भएको छ। पाकिस्तानले संयुक्त अरब इमिरेट्सलाई ३.५ अर्ब डलर ऋण फिर्ता गर्नुपर्ने समय नजिकिँदै गर्दा साउदी अरब र कतारले ५ अर्ब डलरको वित्तीय प्याकेज उपलब्ध गराउने सहमति भएको छ।
पाकिस्तानी अर्थमन्त्री मोहम्मद औरंगजेब हाल अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वसन्तकालीन बैठकमा सहभागी हुन वासिङ्टनमा रहेका बेला यो विकासक्रम सार्वजनिक भएको हो। विदेशी मुद्रा सञ्चितिमा चरम दबाब झेलिरहेको इस्लामावादका लागि साउदी अरबको यो सहयोग र रणनीतिक साझेदारी ‘लाइफलाइन’ सावित हुने देखिएको छ।































प्रतिक्रिया