काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चैत २९ आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम पेस गरिएको यो विवरणले सरकारी पद धारण गर्नेहरूको आर्थिक अवस्था नागरिकसमक्ष खुलस्त पारिदिएको छ ।
केही मन्त्रीले विदेशी रोजगारी, व्यवसाय, सेयर बजार र जलविद्युत् लगानीबाट करोडौंको सम्पत्ति जोडेको देखिन्छ भने केहीले पैत्रिक जग्गा, सानो बैंक मौज्दात, विवाह/पैत्रिक सुनचाँदी र कृषि जनावरसम्मलाई सम्पत्तिको रूपमा उल्लेख गरेका छन् । बालेन सरकारको १५ मन्त्रीमध्ये हामीले अन्य मन्त्रीको सम्पत्ति विवरणलाई केलाएर कम सम्पत्ति देखिने ५ गरिब मन्त्रीहरु को–को हुन् ? उनीहरु अन्य मन्त्रीको तुलनामा कसरी गरिब भए ? सम्पत्तिका रुपमा के–के सार्वजनिक गरे ? भनेर रिपोर्ट तयार गरेका छौं ।
१. महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीः प्रधानमन्त्री बालेनको क्याबिनेटमा गरिब मन्त्रीको पहिलो नम्बरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई राखेका छौं । बादीले सार्वजनिक गरेको विवरण अनुसार उनीसँग व्यक्तिगत नगद ५० हजार र श्रीमान्सँग मिलेर बैंकमा १५ लाख राखेको जानकारी दिएकी छिन् । त्यस्तै विवाहमा प्राप्त १८ तोला सुन, १५ तोला चाँदी र सुर्खेतमा रहेको ८९.६५ वर्गमिटर जग्गा, २० वटा कुखुरा, १ वटा कुकुर, एउटा स्कुटर, ३ वटा ल्यापटप, २ वटा मोबाइल र श्रीमान्को नाममा रहेको पल्सर मोटरसाइकलका बारेमा जानकारी उपलब्ध गराएकी छिन् ।

२. कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीः बालेनको क्याबिनेटमा गरिब मन्त्रीको दोस्रो नम्बरमा मन्त्री कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी देखिएकी छिन् । उनले सार्वजनिक गरेको विवरण अनुसार उनीसँग विभिन्न ५ बैंकमा पैत्रिक र स्वआर्जन गरेको १ लाख २६ हजार नगद; ५ तोला सुन, १०० तोला चाँदी, माइतीबाट प्राप्त २ वटा बाख्रा, १० वटा कुखुरा; ५० हजारको घडी, ९० हजारको मोबाइल, ७५ हजारको ल्यापटप; स्वआर्जनबाट ३ लाख ३० हजारको स्कुटर र अर्को स्कुटर लिनका लागि १ लाख ५० हजार ऋण र २ लाख ५० हजारको सेयर आफ्नो सम्पत्तिका रुपमा देखाएका छन् ।

३. कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमः त्यसैगरी बालेन क्याबिनेटमा कम सम्पत्ति भएको तेस्रो मन्त्रीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम देखिएकी छिन् । उनले सार्वजनिक गरेको सम्पत्ति अनुसार काठमाडौं र चितवनमा घर श्रीमान् गृहेन्द्र घिमिरे र सासू कृष्णदेवीको नाममा; बैंकमा १० लाख ५० हजार ३३५ नगद; राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख ऋण तर उक्त ऋणमा ७ लाख चुक्ता, एभरेष्ट बैंकबाट गाडी खरिदका लागि २५ लाख ऋण; १५ तोला सुन, ९ तोला चाँदी, १ तोला हीरा; बा ०१–०२९ च ४३३६ नम्बरको आफ्नो तथा बा ३ च ६७२२ नक्बरको श्रीमान्को गाडी सम्पत्तिका रुपमा रहेको कानुनमन्त्री सोविता गौतमले खुलाएकी छिन् ।

४. श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवः त्यस्तै बालेन क्याबिनेटमा कम सम्पत्ति भएको चौथो मन्त्रीका रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव देखिन्छन् । मन्त्री यादवले सप्तरीमा पैत्रिक घर तथा जग्गा; ८० तोला सुनm १५० तोला चाँदी र विभिन्न बैंकमा सानो नम्बरमा नगद रहेको खुलाएका छन् ।

५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलः बालेन सरकारको क्याबिनेटमा रहेका पाँचौ गरिब मन्त्रीका रुपमा हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेललाई राखेका छौं । पर्यटनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार भाउजु सन्तोषी शर्माको नाममा पोखरा महानगरपालिका–१४ मा २ करोड ६० लाखमा घर खरिद; पोखरामा पैत्रिक जग्गा; ११ तोला सुन, ५ तोला चाँदी र विभिन्न बैंक तथा सहकारीमा नगद र ऋणहरु रहेको देखिन्छ ।

यी ५ मन्त्रीको सम्पत्ति मुख्य रूपमा पैत्रिक, विवाह/माइतीबाट प्राप्त वा सानो स्वआर्जनमा आधारित उल्लेख गरिएको छ । उनीहरूले कुखुरा, बाख्रा, स्कुटर वा ल्यापटपजस्ता दैनिक उपयोगका वस्तुलाई पनि सम्पत्तिमा समावेश गरेका छन् । यसको विपरीत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग २४ करोड १६ लाखभन्दा बढीको ७ ठाउँमा घर जग्गा, उद्योगमन्त्री गौरीकुमारी यादवसँग काठमाडौं–महोत्तरीमा अथाह जग्गा, १८० तोला सुन, ३ करोड ३८ लाखको लगानी, गृहमन्त्री सुधन गुरुङसँग ४ करोड ३१ लाखको सेयर र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग ४ वटा घर तथा अपार्टमेन्टका साथै १ करोड ९० लाखको बैंक ब्यालेन्स देखिन्छ ।
त्यति मात्र होइन प्रधानमन्त्री बालेन शाहकै बैंक ब्यालेन्स पनि १ करोड ४६ लाख देखाएका छन् भने श्रीमतीको नाममा १९० तोला गरगहना र परिवारिक जग्गा पनि देखाएका छन् । समग्रमा आइतबार सार्वजनिक भएको बालेन सरकारको सम्पत्ति विवरणले नेपालको राजनीतिमा “साधारण” र “सम्पन्न” मन्त्रीबीचको खाडल देखाएको छ ।





























प्रतिक्रिया