अमेरिकी प्रतिवेदनको निष्कर्षः बालेन-रास्वपा गठजोड ‘स्वार्थ प्रेरित’, पपुलिज्मले अस्थिरता निम्त्याउने चेतावनी

अमेरिकी प्रतिवेदनको निष्कर्षः बालेन-रास्वपा गठजोड ‘स्वार्थ प्रेरित’, पपुलिज्मले अस्थिरता निम्त्याउने चेतावनी

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । अमेरिकी कङ्ग्रेसको अनुसन्धान शाखा कङ्ग्रेसनल रिसर्च सर्भिसले ३१ मार्च २०२६ मा सार्वजनिक गरेको ‘नेपालको संसदीय निर्वाचन’ शीर्षकको प्रतिवेदनले फागुन २१ को निर्वाचनलाई नेपालको राजनीतिक इतिहासमा निर्णायक मोडको रूपमा चित्रण गरेको छ ।

प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १८२ सिटसहितको स्पष्ट बहुमत र बालेन्द्र शाह (बालेन) को प्रधानमन्त्री पदलाई ‘संस्थापनविरोधी विद्रोह’ को उपज माने पनि उनीहरूबीचको गठजोडलाई ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् स्वार्थप्रेरित सुविधाको विवाहको संज्ञा दिएको छ ।

प्रतिवेदनले निर्वाचनको परिणामलाई ‘आकस्मिक’ नभएर भदौ २०२५ को युवा आन्दोलनको प्रत्यक्ष परिणाम भनेको छ । तत्कालीन केपी शर्मा ओली सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सुरु भएको जेनजी नेतृत्वको आन्दोलन हिंसात्मक बनेको थियो । ८–९ सेप्टेम्बरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कम्तीमा ७५ जनाको मृत्यु, २ हजारभन्दा बढी घाइते र ८५ अर्ब रूपैयाँ बराबरको आर्थिक क्षति भएको उल्लेख छ ।

यो आन्दोलनले ओली सरकार मात्र ढालेन, नेपालको परम्परागत राजनीतिप्रतिको युवा निराशालाई सतहमा ल्यायो । आन्दोलनकै दबाबमा ओलीले ९ सेप्टेम्बरमा राजीनामा दिए । बालेनले अन्तरिम प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि युवाहरूले अनलाइन भोटिङबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई छाने र उनी १२ सेप्टेम्बरमा नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।

सिआरएसले बालेन शाह र रास्वपाबीचको सम्बन्धलाई ‘मैत्रीपूर्ण सुविधा प्रेरित’ भनेको छ । स्वतन्त्र मेयरका रूपमा उदाएका बालेन र सांगठनिक दल रास्वपा (रवी लामिछाने नेतृत्व) बीचको यो गठजोड वैचारिक एकताभन्दा बढी चुनावी रणनीति रहेको प्रतिवेदनको ठहर छ । रास्वपालाई ‘पुराना दलसँग असन्तुष्टहरूलाई सुशासनको प्राविधिक एजेन्डामा एकीकृत गर्ने छाता संगठन’ को रूपमा वर्णन गरिएको छ ।

प्रतिवेदनले बालेनको कार्यशैलीप्रति सूक्ष्म आलोचना गरेको छ । “शाहले परम्परागत मिडियाभन्दा फेसबुकबाट मात्र सञ्चार गर्छन् र उनीसँग शासन सञ्चालनका ठोस योजनाको अभाव छ,” भन्दै प्रतिवेदनले उनको ‘पपुलिष्ट’ छवि र ‘प्रशासनिक जटिलता’ बीचको द्वन्द्वलाई मुख्य चुनौती मानेको छ । काठमाडौँ मेयरका रूपमा उनको मिश्रित ट्र्याक रेकर्डलाई पनि औंल्याइएको छ । त्यस्तै प्रतिवेदनले बालेनको विदेश नीतिलाई ‘व्यावहारिक र राष्ट्रिय स्वार्थकेन्द्रित’ हुने अपेक्षा गरेको छ ।

सिआरएस भनेको के हो ?
कङ्ग्रेसनल रिसर्च सर्भिस अमेरिकी कङ्ग्रेसको निष्पक्ष ‘थिंक ट्याङ्क’ हो । सन् १९१४ मा स्थापित यो संस्था लाइब्रेरी अफ कङ्ग्रेसअन्तर्गत कार्यरत छ र सांसदहरूलाई तथ्यपरक, गैरदलीय विश्लेषण उपलब्ध गराउँछ ।

Skip This
Skip This
Logo