चेन्नई । इन्डियन प्रिमियर लिग २०२६ मा कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणे दोहोरो संकटमा परेका छन्।
एकातिर उनको कप्तानीमा टोलीले लगातार हार व्यहोरेर अंक तालिकाको पुछारमा सीमित हुनु परेको छ भने, अर्कोतिर उनलाई भारतीय क्रिकेट नियन्त्रण बोर्डले मोटो रकम जरिवाना गरेको छ।
मंगलबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोलकाताले निर्धारित समयमा ओभर पूरा गर्न नसकेपछि कप्तान रहाणे कारबाहीमा परेका हुन्। आईपीएलको आचारसंहिताको धारा २.२२ अन्तर्गत न्यूनतम ओभर-रेट कायम नगरेको भन्दै उनलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको आईपीएलले आधिकारिक विज्ञप्ति मार्फत जानकारी दिएको छ।
उक्त खेलमा कोलकाता चेन्नईसँग ३२ रनले पराजित भएको थियो। यो सिजन कोलकाताको तर्फबाट भएको यो पहिलो ओभर-रेट अपराध भएकाले रहाणेलाई न्यूनतम जरिवाना गरिएको हो। यद्यपि, भविष्यमा यही गल्ती दोहोरिएमा जरिवाना रकम बढ्दै जाने र कप्तानमाथि खेलको प्रतिबन्ध समेत लाग्न सक्ने नियम रहेको छ।
रहाणे यस सिजन स्लो ओभर-रेटका कारण कारबाही भोग्ने चौथो कप्तान बनेका छन्। यसअघि पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यरले दुई पटक यो नियम उल्लंघन गरेर कुल ३६ लाख जरिवाना तिरिसकेका छन्।





























प्रतिक्रिया