विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

विश्वकै १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपालका ३५ वर्षीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनको सन् २०२६ को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा स्थान बनाएका छन् । ‘लिडर’ विधामा समावेश उनी यो सूचीमा परेका पहिलो नेपाली हुन् ।

फागुन २१ मा भएको आम निर्वाचनमा ल्यान्डस्लाइड जित हासिल गरेर नेपालको इतिहासकै सबैभन्दा कान्छा प्रधानमन्त्री बनेका शाहको उदयलाई टाइमले ‘युवा विद्रोह र परिवर्तनको संवाहक’ को रूपमा चित्रण गरेको छ । गत भदौमा जेन–जी पुस्ताको नेतृत्वमा भएको घातक सडक आन्दोलनले पुरानो भ्रष्ट र वंशवादी राजनीतिक वर्गलाई चुनौती दिएको थियो । त्यही आन्दोलनबाट उदाएका स्वतन्त्र उम्मेदवार शाहले परम्परागत दलीय सिन्डिकेटलाई तोड्दै राष्ट्रिय नेतृत्व हासिल गरेका थिए।

टाइमका एडिटर–एट–लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा शाहलाई पूर्व हिप–हप कलाकार, सिभिल इन्जिनियर र काठमाडौँ महानगरपालिकाको पूर्वमेयरका रूपमा उल्लेख गरिएको छ ।

काठमाडौँको मेयरका रूपमा शाहले कर्मचारीतन्त्रको जटिलता तोडेर फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा उल्लेखनीय सुधार गरेका थिए। यही कार्यशैली र भ्रष्टाचारविरुद्धको स्पष्ट अडानले उनलाई राष्ट्रियस्तरमा लोकप्रिय बनायो। टाइमले उनको उदयलाई दक्षिण एसियाको वंशवादी राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गरेको छ।

म्यागजिनका प्रधानसम्पादक स्याम ज्याकोबका अनुसार सन् २०२६ को सूची केवल लोकप्रियता वा पदको आधारमा होइन, विश्वको दिशा निर्धारण गर्ने, नयाँ सोच ल्याउने र दीर्घकालीन प्रभाव पार्ने व्यक्तित्वका आधारमा तयार पारिएको हो। सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ जस्ता विश्व नेताहरूसँगै बालेनलाई पनि समावेश गरिएको छ ।

३ करोड नेपालीको नेतृत्व गरिरहेका शाहमाथि अब आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारको चुनौतीबीच काठमाडौँ महानगरमा देखाएको सफलता राष्ट्रिय स्तरमा दोहो¥याउने ठूलो जिम्मेवारी आएको छ ।

म्यागजिनको यो छनोटले नेपालको राजनीतिमा नयाँ पुस्ताको उदयलाई विश्व मञ्चमा मान्यता दिएको छ । बालेन शाह अब केवल नेपालको प्रधानमन्त्री मात्र होइनन्, दक्षिण एसियाली राजनीतिमा युवा नेतृत्वको नयाँ प्रतीक बनेका छन्।

Logo