नेपालका जेनजी युवालाई लक्षित गर्दै चीनको नयाँ ‘युथ पायोनियर प्रोग्राम’ सुरु

नेपालका जेनजी युवालाई लक्षित गर्दै चीनको नयाँ ‘युथ पायोनियर प्रोग्राम’ सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालका युवा लक्षित अन्तर्राष्ट्रिय कार्यक्रमहरूबीच प्रतिस्पर्धा बढिरहेका बेला चीनले नयाँ पहलस्वरूप ‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (CNYP)’ घोषणा गरेको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार २२ देखि ३४ वर्ष उमेर समूहका नेपाली युवालाई लक्षित गर्दै यो एक वर्षे कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमको मुख्य उद्देश्य नेतृत्व विकास, नीति संवाद, सामाजिक मुद्दामा छलफल तथा चीन–नेपालबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु रहेको दूतावासले जनाएको छ।

छनोट भएका युवाहरूलाई नेतृत्व तालिम, कार्यशाला, अध्ययन भ्रमण तथा विभिन्न विज्ञ, कूटनीतिज्ञ र उद्यमीसँग प्रत्यक्ष अन्तरक्रियाको अवसर प्रदान गरिनेछ। साथै सहभागीलाई चीन भ्रमणको समेत अवसर दिइनेछ।

दूतावासका अनुसार सीमित संख्या (१० देखि २० जना) मात्रै छनोट गरिनेछ र आवेदनहरूको मूल्यांकन कार्यक्रमको उद्देश्यसँगको सान्दर्भिकताका आधारमा गरिनेछ।

कार्यक्रम सम्पन्न भएपछि सहभागीहरू पूर्व–सदस्य सञ्जाल (अलुम्नाइ नेटवर्क)मा आबद्ध हुनेछन्, जसले भविष्यमा थप अवसर र सहकार्यको ढोका खोल्ने बताइएको छ।

विश्लेषकहरूका अनुसार चीनको यो पहल केवल नेतृत्व विकास कार्यक्रम मात्र नभई नेपालमा आफ्नो ‘सफ्ट पावर कूटनीति’ विस्तार गर्ने रणनीतिक प्रयासका रूपमा पनि हेरिएको छ। यस्तै कार्यक्रमहरू अमेरिकालगायत अन्य मुलुकहरूले पनि सञ्चालन गर्दै आएका छन्, जसले नेपालमा युवा कूटनीतिक प्रतिस्पर्धा थप सक्रिय बनाएको देखिन्छ।

युवालाई अवसर र अनुभव दिने दृष्टिले सकारात्मक भए पनि यस्ता कार्यक्रमहरूको दीर्घकालीन प्रभाव र कूटनीतिक सन्तुलनबारे भने बहस सुरु भएको छ।

Logo