बुटवल । सामाजिक सञ्जालमा उपचारका भिडिओ सार्वजनिक गरेको विषयलाई लिएर रुपन्देहीका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुधीर प्रसाद साह विवादमा परेका छन्।
नेपाल मेडिकल काउन्सिलले डा. साहलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ। काउन्सिलका अनुसार बिरामीहरूको उपचार प्रक्रिया देखिने भिडिओहरू टिकटक र फेसबुकमार्फत सार्वजनिक गरिएको भन्दै यो कार्य चिकित्सकीय आचारसंहिता विपरीत हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ।
डा. साहले पछिल्लो एक वर्षदेखि आफ्ना सामाजिक सञ्जाल खातामार्फत उपचार, स्वास्थ्य सन्देश तथा क्लिनिकल गतिविधिका भिडिओ नियमित रूपमा पोस्ट गर्दै आएका थिए।
काउन्सिलले यस्तो सामग्री सार्वजनिक गर्दा बिरामीको गोपनीयता, व्यवसायिक नैतिकता र आचारसंहिता उल्लंघन हुने भएकाले स्पष्टिकरण आवश्यक रहेको जनाएको छ।
निर्धारित समयभित्र स्पष्टीकरण नआए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
यस घटनाले स्वास्थ्य क्षेत्रमा सामाजिक सञ्जाल प्रयोग र चिकित्सकीय गोपनीयताबारे पुनः बहस सुरु गराएको छ।





























प्रतिक्रिया