सल्यानमा जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु , १४ जना घाइते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना : ४ जनाको मृत्यु , १४ जना घाइते

केन्द्रबिन्दु
489
Shares

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। लु.प्र. ०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ पुथालामा दुर्घटना भएको हो। जिप कालीमाटीको लक्ष्मीपुरतर्फ जाँदै थियो। मृत्यु हुनेमा मनबहादुर थापा, टोपबहादुर थापा, ठगे घर्ती र कर्णबहादुर पुन रहेका छन्। सबै मृतक सोही वडाका बासिन्दा हुन्।

जिपमा १८ जना सवार थिए। घाइतेहरूलाई उद्धार गरी सुर्खेतको मेहेलकुना अस्पतालसहित अन्य अस्पतालमा उपचारका लागि पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरू सबै बनगाड कुपिण्डे नगरपालिका–८ का बासिन्दा रहेका छन्।

घाइतेमध्ये ६४ वर्षीय अम्मरसिंह कँवर, २७ वर्षीय डम्मर घर्ती, ३० वर्षीय जनक थापा, ४९ वर्षीय भुपेन्द्र कँवर, ३० वर्षीय भुलबहादुर थापा, ५६ वर्षीय जुगसिंह पुन र चालक ३८ वर्षीय कुलबहादुर राना गम्भीर अवस्थामा छन्। त्यस्तै ३८ वर्षीय अम्मर पुन, २८ वर्षीय नरसिङ थापा, २५ वर्षीय प्रेमबहादुर घर्ती, २५ वर्षीय नरबहादुर थापा, ३८ वर्षीय कर्णबहादुर थापा, ४५ वर्षीय लालबहादुर घर्ती र १५ वर्षीय तिलक थापा मध्यम घाइते भएका छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Logo