पर्वत । जलजला गाउँपालिका–४ का स्थानीयले सामूहिक लगानीमा जैविक मल उद्योग सञ्चालनमा ल्याएका छन् ।खोलाखेतका स्थानीयले सामूहिक लगानीमा उद्योग सञ्चालन गरेका हुन् । १५ लाखको लगानीमा स्थानीयले उद्योग स्थापना गरेका हुन् ।गाउँको जंगल नजिक स्थानीय उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण गरेको मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले बताए ।
जैविक कम्पोष्ट मलमा पर्याप्त मात्रामा नाइट्रोजन, फस्फोरस, कार्बोन, पोटासियम र बिरुवाको वृद्धिका लागि आवश्यक सबै पोषक तत्त्व पाइने समितिका अध्यक्ष जिसीको भनाइ छ । ’’हामीले मलको ल्याब परीक्षण गरी उत्पादनको स्वीकृति पाएका छौँ । परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गर्दछौँ,’’ उनले भने ।
उत्पादन सुरु भएसँगै मुस्ताङबाट करिब ३० टन मलको माग आएको उनले बताए । मलको प्रतिकेजी मूल्य ४० रुपैयाँ निर्धारण गरिएको छ । स्याउ र सुन्तला खेतीका लागि कम्पोष्ट मल धेरै उपयोगी हुने उनको भनाइ छ । जैविक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादन गरिएको उक्त मल शतप्रतिशत प्राकृतिक रहेको उत्पादकले जानकारी दिएका छन् ।
कृषि उत्पादन वृद्धि माटोको उर्वराशक्ति सुधार तथा वातावरणमैत्री खेती प्रणालीलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित बायो कम्पोष्ट मल उत्पादन थालिएको स्थानीयवासी नरबहादुर कार्कीले जानकारी दिए ।
जैविक कम्पोष्ट मल विभिन्न जैविक पदार्थ जस्तै घाँस, पात, गोबर, कृषि अवशेष लगायतबाट तयार पारिएको हो ।































प्रतिक्रिया