बागलुङ। बागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चकोटमा दाताको सहयोगमा आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।
बागलुङ नगरपालिका–३ निवासी तथा काठमाडौँमा बसोबास गर्दै आएका आनन्द राजभण्डारीको सहयोगमा ‘आनन्द प्रवेशद्वार’ निर्माण गरिएको हो ।
प्रवेशद्वारको शनिबार राजभण्डारी, उनका परिवारका सदस्य तथा पञ्चकोटका संकल्पकर्ता स्वामी कमलनयनाचार्यले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यका अनुसार यो प्रवेशद्वारले पञ्चकोटको सौन्दर्य र आकर्षण थप बढाएको छ । धार्मिक महत्व र पूर्वाधार विस्तारसँगै पञ्चकोट अहिले देशकै प्रमुख तीर्थ तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
हाल पञ्चकोटमा १३५ फिट अग्लो विश्वशान्ति कलश निर्माण भइरहेको छ । यससँगै कालीगण्डकी माताको मन्दिर, गणेश मन्दिर, पञ्चमहालक्ष्मी मन्दिर, हनुमानको विशाल मूर्ति तथा ५ हजार ५५५ केजीको महाघण्टाले यस क्षेत्रको धार्मिक पहिचानलाई अझ बलियो बनाएको छ ।
निर्माणकर्ता राजभण्डारीले पञ्चकोटको विकास र पर्यटन प्रवर्द्धनमा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यहाँ सरकारी, गैरसरकारी तथा व्यक्तिगत दाताको सहयोगमा करोडौँ रुपैयाँका संरचना निर्माण भइरहेका छन् ।
२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेपछि पञ्चकोटमा दर्जनौँ पूर्वाधार निर्माण भइसकेका छन् । धार्मिक गतिविधि, महायज्ञ तथा विशेष कार्यक्रमका कारण हरेक वर्ष देशभरबाट सयौँ श्रद्धालु यहाँ आउने गरेका छन् ।
पञ्चकोटका संकल्पकर्ता स्वामी कमलनयनाचार्यका अनुसार निर्माणाधीन कलशले “जल सम्पदा, जल संस्कृति र जल जीवन”को सन्देश दिनेछ र पञ्चकोटको धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्नेछ ।
यसैबीच, बागलुङ नगरपालिकाले संघीय समानीकरण कार्यक्रममार्फत आर्थिक वर्ष २०८०/८१ मा ४० लाख र २०८१/८२ मा ५० लाख रुपैयाँ लगानी गरी मञ्च तथा भान्छासहितको कार्यक्रम स्थल निर्माण गरेको छ ।





























प्रतिक्रिया