पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेवर फेर्ने कार्य जारी

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको कलेवर फेर्ने कार्य जारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरको कलेवर फेर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ । यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति निर्माण कार्य भइरहेको छ ।

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार हरेक १२र१२ वर्षमा मन्दिरको कलेवर फेर्ने परम्परा रहिआएको छ । सोहीअनुसार वैशाख १८ गतेसम्म कलेवर फेर्ने कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए।

जयवागेश्वरी मन्दिरमा टाउको काटिनुअघिको अवस्थाको गणेश मूर्ति रहेको मानिन्छ, जसका कारण यहाँको मूर्तिमा सूँढ छैन । ऐतिहासिक तथ्यअनुसार कलिगत संवत् ३२३२ मा सुरु भई ३२७४ मा मन्दिर निर्माण सम्पन्न भएको उल्लेख पाइन्छ । विसं १९९० को भूकम्पपछि जीर्णोद्वार गरिएको मन्दिर २०७२ वैशाख १२ को भूकम्पपछि पुनः निर्माण गरिएको थियो ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीको स्वरूपका रूपमा पुजिने गरिन्छ । यहाँ विशेषगरी विद्याकी देवीका रूपमा आराधना गर्ने परम्परा प्रचलित छ । तान्त्रिक साधनामा संलग्न साधकहरू अन्तिम चरणमा जयवागेश्वरीमा पूजा गर्ने परम्परा रहेको मानिन्छ ।

मन्दिर परिसरमा रहेको सुन्धारा हाल लोपोन्मुख अवस्थामा पुगेको छ भने नजिकै तलेजु भवानीको मन्दिर पनि अवस्थित छ ।

ऐतिहासिक दृष्टिले जयवागेश्वरीलाई उपत्यकाको पुरानो बस्ती तथा प्रारम्भिक राजधानीका रूपमा पनि चिनिन्छ । स्थानीय जानकारहरूका अनुसार यहाँ प्राचीन कालमा नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोकासहितको बस्ती प्रणाली रहेको थियो ।

इतिहासविद्हरूका अनुसार गोपाल र किराँतकालीन शासनको राजधानी यही क्षेत्र रहेको र पछि लिच्छविकालमा राजधानी हाँडीगाउँतर्फ सारिएको मानिन्छ । मल्लकालमा भने राजधानी हनुमानढोकामा स्थानान्तरण गरिएको इतिहास पाइन्छ ।

Skip This
Skip This
Logo