यसरी फेरिँदैछ रुपाको रुप

यसरी फेरिँदैछ रुपाको रुप

केन्द्रबिन्दु
12
Shares

गण्डकी । रुपाताल क्षेत्र अबको केही वर्षमा अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रूपान्तरण हुने अपेक्षा गरिएको छ । पर्यावरणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत सम्भावनालाई समेटेर अघि बढाइएको गुरुयोजना कार्यान्वयनसँगै तालको स्वरूप क्रमशः बदलिँदै गएको छ ।

जलस्रोत तथा सिँचाइ विभागले रुपाताल संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न संरचनात्मक तथा विकास कार्यहरू निरन्तर अघि बढाइरहेको छ । विभागका महानिर्देशक मित्र बरालका अनुसार पर्यावरणीय सन्तुलन, जलचर संरक्षण, सिँचाइ र ऊर्जा उत्पादनलाई ध्यानमा राखी एकीकृत रूपमा काम भइरहेको छ ।

सात तालको बगैँचाका रूपमा परिचित रुपाताल सिमसार सूचीमा सूचीकृत तालहरूमध्ये एक हो । प्राकृतिक सौन्दर्य र मानवीय अतिक्रमण दुवैको प्रभावमा परेको यस ताललाई संरक्षण गर्न गुरुयोजनासहित विकास कार्य अघि बढाइएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठका अनुसार परियोजना सम्पन्न भएपछि रुपातालको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन हुनेछ । विसं २०७५/७६ बाट सुरु भएको आयोजना २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

हाल १२२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल बाँध निर्माणपछि १८३ हेक्टरमा विस्तार हुनेछ । ५९० मिटर माटो र ४५ मिटर कङ्क्रिट बाँध निर्माणको काम ७० प्रतिशत पूरा भइसकेको छ । बाँध सम्पन्न भएपछि तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर पुग्नेछ ।

तालको किनारमा पक्की सडक, इको ट्रेल, टापुमा मन्दिर निर्माण तथा पर्यावरणीय संरचना विकासका काम पनि अघि बढिरहेका छन् । साथै, ३१७ रुख हटाउने स्वीकृति भए पनि फिल्ड अध्ययनपछि १२८ मात्र हटाउनुपर्ने देखिएको छ ।

आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण तथा मुआब्जा वितरण कार्य पनि अघि बढाइएको छ । हालसम्म करिब एक अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको छ ।

स्थानीयवासीका अनुसार रुपाताल प्राकृतिक सौन्दर्यसँगै माछा पर्यटन, चरा अवलोकन र फिसिङका लागि पनि लोकप्रिय बन्दै गएको छ । विशेषगरी बिदाका दिनमा सयौँ पर्यटक यहाँ आउने गरेका छन् ।

मोती उत्पादनको सम्भावना परीक्षणसमेत सुरु गरिएको छ भने तालमाथिको झोलुङ्गे पुल र प्राणी उद्यान केन्द्रले पनि पर्यटक आकर्षण बढाएका छन् ।

साइबेरिया लगायतका देशबाट आउने चराहरूका कारण रुपाताल चरा पर्यटनका लागि समेत महत्वपूर्ण गन्तव्य बनेको छ ।

सबै विकास कार्य सम्पन्न भएपछि रुपाताल केवल जलाशय नभई गण्डकी क्षेत्रकै प्रमुख पर्यटकीय, जैविक विविधता र अनुसन्धान केन्द्रका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo