राष्ट्रपतिले दिएका ५ भोज

राष्ट्रपतिले दिएका ५ भोज

केन्द्रबिन्दु
0
Shares

दिवस गुरागाईं

राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुसहित केन्द्रीय पदाधिकारीलाई माघे संक्रान्तिको अवसर पारेर दिवा भोजको आयोजना गरिन् । शितल निवासमा आयोजित भोजमा ठूलो संख्यामा नेताहरु सरिक थिए ।

राष्ट्रपतिको १ माघको त्यस भोजमा संवैधानिक नियोगका प्रमुखहरु, महानगरपालिकाका मेयर तथा उपमेयर र आफू निकट राजनीतिक दलका नेताहरु पनि सहभागी थिए । राष्ट्रपतिले दिएको यो नै पहिलो भोज भने होइन । प्रतिनिधिसभाको चुनाव सम्पन्न भए पछि मात्र उनले यस्ता ५ वटा भोज सम्पन्न गरिसकेकी छन् । एक–दुई वा केही मानिसहरु बोलाएर गर्ने दिवा भोज वा रात्रीभोज त दिनहुजसो हुने गरेको राष्ट्रपति कार्यालयका एक कर्मचारी बताउँछन् ।

पहिलो भोज उपराष्ट्रपतिलाई
निर्वाचन सकिए लगत्तै राजनीतिक नेतृत्व परिवर्तनको जव चर्चा सुरु भयो, तव राष्ट्रपतिले पौषको दोस्रो साता उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारलाई शितल निवास डाकेर भोजको सुरुवात गरिन् । त्यसबेला शितल निवासमा राष्ट्रपति र उपराष्ट्रपतिको परिवारिक भोज चलेको थियो । भण्डारी र पुन दुवै चुनावी बाम गठबन्धनका पूर्व नेता हुन् । यी दुवै नेता अवको सत्ता परिवर्तन पछि दोहोरिने वा विदा हुने भन्ने बहस बाम गठबन्धन भित्र आन्तरिक रुपमा चलिरहेको छ ।

दोस्रो भोज आफू निकटलाई
राष्ट्रपति बन्नुअघि विद्यादेवी भण्डारी नेकपा एमालेको उपाध्यक्ष थिइन् । नेकपा (एमाले)को उपाध्यक्षमा भण्डारी केपी ओली प्यानलबाट निर्वाचित भएकी हुन् । ओलीपछि उक्त समूहको प्रभावशाली नेतामा रहेकी भण्डारी दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन ।
उपराष्ट्रपतिपछि भोजको शिलशिला एमालेका ओली निकट मानिएका र आफ्ना पूर्व सहयात्रीहरुलाई बोलाएर भण्डारीले अघि बढाएकि थिइन् । एमाले–माओवादी एकता (बाम गठबन्धन) प्रकृयालाई नजिकबाट चासो लिइरहेकी भण्डारीले सो अवसरमा एमाले नेता सुवास नेम्बाङ्ग, शंकर पोखरेल, प्रदिप ज्ञावाली लगायतलाई शितल निवास डाकेकी थिइन ।

तेस्रो भोज बामका प्रभावशालीलाई
चुनावमा गठबन्धन गरेर बहुमत हासिल गर्दै पार्टी एकीकरणको तयारी गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रले अब केही दिनभित्रै प्रमुख पदहरुमा कसलाई नियुक्त गर्ने भन्ने निर्णय गरिसक्नु पर्छ । खासगरी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री पदको भागबण्डाका लागि उनीहरुवीच औपचारिक र अनौपचारिक कुराकानी समेत भइरहेको छ । यहीवीच राष्ट्रपति भण्डारीले पौषको दोस्रो साता वाम गठबन्धनका प्रभावशाली मानिएका दोस्रो तहका नेताहरु शितल निवासमा रात्री भोजमा सरिक भए । वाम गठबन्धनका एक दर्जन नेतालाई दिएको भोजमा एमालेका तर्फबाट भिम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदिप ज्ञावाली सुवाश नेम्वाङ्ग र शंकर पोखरेल लगायतका नेताहरु सामेल थिए । त्यसैगरी मओवादी केन्द्रका कृष्णबहादुर महार, शक्ति बस्नेत, जनार्दन शर्मा, वर्षमान पुन लगायत सामेल थिए ।

चौथो भोजमा प्रचण्ड परिवार
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवारलाई २८ पौषको शुक्रवार साँझ राष्ट्रपतिले रात्रिभोजमा निम्तो गरेकी थिइन् । दाहालसँगै पत्नी सीता दाहाल, दुवै छोरी रेणु र गंगा, ज्वाई सागर केसी, अर्जुन पाठक र जीवन आचार्य, सरिक थिए । त्यसैगरी बुहारी वीना मगर र नाती–नातिना सहित १७ जना भोजमा सहभागी रहेको स्रोतको दावी छ । राष्ट्रपति परिवार र उनका सहयोगीगरी दुई दर्जनभन्दा बढी र डेढ दर्जनजति प्रचण्ड परिवारका सदस्यहरु भोजमा सरिक रहेको शितल निवास स्रोत बताउँछ ।

पाँचौ भोज उच्च नेतृत्वलाई
१ माघमा केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुसहित संवैधानिक नियोगका प्रमुखहरु, महानगरपालिकाका मेयर तथा उपमेयर र आफू निकट राजनीतिक दलका नेताहरुलाई बृहत्त भोज भत्तेरको आयोजना गरेकि थिइन् ।

राष्ट्रपतिको भोज मीसन
राष्ट्रपतिले शृङखलाबद्ध ढंगले दिएको भोज–भत्तेरको मीसन के हो ? एकथरी एमाले नेताहरु नै भन्छन्– ‘राष्ट्रपतिमा दोहोरिने ।’ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई त उनले खुलेरै आफ्नो इच्छा जाहेर गरिसकेको स्रोतको दावी रहेको छ ।

राष्ट्रपति भण्डारी पुन दोहोरिए परिवर्तनको आभाष नहुने एकथरीले विश्लेषण गरिरहेकावेला उनी भोज शृङखलालाई निरन्तरता दिइरहेकी छिन् ।

नयाँ राष्ट्रपतिको चयन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाताको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था रहेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति हुनका लागि संघीय संसदको सदस्य हुन योग्य व्यक्ति, ४५ वर्ष पूरा भएको र कानूनले अयोग्य नठहर्याएको हुनुपर्ने व्यवस्था रहेको छ ।

भण्डारी राष्ट्रपति बन्न नेपालको कानुनअनुसार संसदको सदस्य हुनुपर्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः एक पटक राष्ट्रपति हुन संविधानले छेक्दैन ।
डा. रामवरण यादव ०६५ साल साउन ८ मा प्रथम राष्ट्रपति बनेका थिए । उनी ०७२ साल कात्तिकसम्म ७ वर्ष राष्ट्रपति भए । पुन ःदोहोरिन नसकेमा भण्डारीले भने नेपालको सबैभन्दा छोटो समय राष्ट्रपति हुने रेर्कड राख्ने छिन् ।

भोज संस्कार
राष्ट्रप्रमुखहरुले भोज दिने प्रचलन सामान्यतया सबै देशमा रहेको पाइन्छ । प्रमुख चाड पर्वहरु, दिवसहरु, विशेष मीसन पूरा भए पश्च्यात र विदेशी नियोगका प्रमुखहरु वा अन्य राष्ट्रका प्रमुखहरु आउँदा समेत भोज दिने चलन रहदै आएको छ । कार्यकाल सकिन केही समय मात्र बाँकी रहेका बेला राष्ट्रपतिले आफू निकट र प्रभाव पार्न सक्ने राजनीतिक पार्टीका नेताहरुलाई बाक्लै रुपमा शितल निवासमा भोज आयोजना गर्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

Skip This
Skip This
Logo