काठमाडौं ।
लघु चलचित्र ‘आइसक्रिम’ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई अवार्ड जितेको छ । निर्देशक संगीता श्रेष्ठको उक्त लघु फिल्मले शनिबार राति घोषणा भएको अवार्ड समारोहमा उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड हात पारेको हो ।
नोभेम्बर तीनदेखि सुरु भएको फेस्टिभलको फिल्म ‘आइसक्रिम’ पहिलो दिन नै स्क्रिनिङ भएको थियो । फिल्ममा सडकमा पैसा माग्दै हिड्ने एक बालिकाको कथामाथि बाल यौन हिंसाको विषय प्रमुखताका साथ प्रस्तुत गरिएको थियो । सोही विषय र उत्कृष्ट सम्पादनका लागि नै अवार्ड हात परेको निर्देशक श्रेष्ठको प्रतिक्रिया छ ।
नौ मिनेट लामो फिल्ममा बालकलाकार योगिशा खत्रीले मुख्य भूमिका निभाएकी छिन् । फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् ।
यो फिल्म अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा पनि छनोट भइसकेको छ ।





























प्रतिक्रिया