काठमाडौँ। सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ। वैशाख ६ र ७ गते देशभर सञ्चालन गरिएको कार्यक्रममा २१ लाख बालबालिकालाई जुकाको औषधि र करिब ८ लाखलाई बालभिटा पनि दिइएको छ।
यो कार्यक्रम ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरेर सञ्चालन गरिएको हो। जुकाको औषधि भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई दिइएको थियो भने ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार भिटामिन ‘ए’ ले आँखाको दृष्टि जोगाउने, रोगसँग लड्ने क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउन सहयोग गर्छ। यही कारणले सरकारले हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रम सफल बनाउन देशभर करिब ५० हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी खटिएका थिए। सरकारले २०५९ सालदेखि भिटामिन ‘ए’ र २०६७ सालदेखि जुकाको औषधि कार्यक्रम सञ्चालन गर्दै आएको छ।































प्रतिक्रिया