पहाडकी रानी बन्दीपुर : व्यापारिक नाकाबाट चर्चित पर्यटकीय गन्तव्यसम्म

पहाडकी रानी बन्दीपुर : व्यापारिक नाकाबाट चर्चित पर्यटकीय गन्तव्यसम्म

केन्द्रबिन्दु
18
Shares

गण्डकी। तनहुँको बन्दीपुर कुनै समय पश्चिम पहाडका जिल्लाहरूका लागि प्रमुख व्यापारिक केन्द्र थियो। सडक सुविधा नहुँदा कास्की, लमजुङ, गोरखा, मनाङलगायत क्षेत्रबाट सामान ल्याएर यहीँ कारोबार हुन्थ्यो। तर २०२५ सालमा सदरमुकाम दमौली सरेपछि बन्दीपुरको स्वरूप विस्तारै बदलिँदै गयो र आज यो देशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ।

प्राकृतिक सुन्दरता, पुराना बस्ती, नेवारी शैलीका घर र सांस्कृतिक सम्पदाले बन्दीपुरलाई विशेष बनाएको छ। यही कारणले तत्कालीन राजा महेन्द्रले यसलाई “पहाडकी रानी” उपमा दिएका थिए। खड्गदेवी मन्दिर, टुँडिखेल, वरिपरिका हरिया डाँडा र हिमालको दृश्यले पर्यटकलाई आकर्षित गर्छन्। “बन्दीपुरे उकाली लामो…” जस्ता गीतले समेत यसको पहिचान झन् बलियो बनाएको छ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि अहिले थप प्रयास भइरहेका छन्। यही वैशाख १८ र १९ गते यहाँ पहिलो पटक प्रदेशस्तरीय ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुँदैछ। मेलाको उद्देश्य गाउँमा सञ्चालित होमस्टे, साना व्यवसाय र स्थानीय उत्पादनलाई सिधै बजारसँग जोड्नु हो। बन्दीपुर गाउँपालिकाले ‘भ्रमण वर्ष’ घोषणा गर्दै पर्यटनलाई अझ व्यवस्थित बनाउने योजना अघि बढाएको छ। बन्दीपुर र व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट’ निर्माण गर्ने काम पनि भइरहेको छ, जसमा रामकोट, धरमपानी, कोरिखालगायत क्षेत्र समेटिएका छन्।

हाल बन्दीपुर क्षेत्रमा अर्बौँ रुपैयाँ लगानी भइसकेको छ र हजारौँ पर्यटक भित्रिने क्रम बढ्दो छ। आगामी वर्ष अझ बढी, करिब सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। स्थानीयले अर्गानिक खाना, परम्परागत संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दै बन्दीपुरलाई नमूना गाउँ पर्यटन गन्तव्य बनाउने प्रयास गरिरहेका छन्।

Logo